काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले देशका विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयको सक्रियतामा साइबर ब्युरो र विभिन्न जिल्ला प्रहरी कार्यालयहरूको सहकार्यमा सञ्चालित विशेष अभियान ‘अप्रेसन डिजिटल स्वाभिमान- महिला तथा बालबालिकाको सम्मान’ अन्तर्गत पछिल्लो २४ घण्टामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका सबैमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ । बुधबार पक्राउ पर्नेहरूमा काठमाडौंको टोखा-१ का २६ वर्षीय आशिष तामाङ, ललितपुर–१४ का ३७ वर्षीय रोहित विक्रम राणा र भारत बिहार स्थायी घर भई काठमाडौं नागार्जुन–१ बस्ने ३२ वर्षीय महमद फैसल एजाज रहेका छन् ।
तामाङले फेसबुकमा फेक आईडी बनाई नाबालिकाको अश्लील फोटो तथा भिडियो आफन्त र साथीलाई पठाएका थिए भने राणाले इमोमार्फत युवतीलाई अश्लील अभिव्यक्ति दिई दुव्र्यवहार गरेका थिए ।
त्यस्तै, एजाजले प्रेम सम्बन्ध टुटेपछि पीडितको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गरेका थिए । सोही दिन इलाम देउमाई-९ घर भई काठमाडौं बस्ने ३७ वर्षीय विमल दर्जी खत्री फेक टिकटक आईडीमार्फत गोप्य फोटो-भिडियो प्रसारण गरेको आरोपमा सिनामङ्गलबाट, म्याग्दी मङ्गला-५ का ५६ वर्षीय दिलबहादुर मगर फेसबुकमार्फत अश्लील गालीगलौज गरेको आरोपमा म्याग्दीबाट र उदयपुर चौदण्डीगढी-९ का २५ वर्षीय सुवास कार्की फेक फेसबुक आईडी बनाई अश्लील सामग्री पठाएर ब्ल्याकमेलिङ गरेको आरोपमा उदयपुरबाट पक्राउ परेका हुन् ।
यस्तै, मङ्सिर १० गते सुर्खेत वीरेन्द्रनगर–११ स्थायी घर भई काठमाडौं-१० बस्ने ३२ वर्षीय चिरन्जीवी सापकोटालाई ह्वाट्सएपमार्फत महिलालाई अश्लील गालीगलौज गरेको आरोपमा शान्तिनगर बानेश्वरबाट पक्राउ गरिएको छ । सोही दिन कास्की प्रहरीले पीडितको सामाजिक सञ्जाल ह्याक गरी अश्लील फोटो तथा भिडियो बनाएर सार्वजनिक गरिदिने धम्की दिँदै रकम माग गर्ने १५ र १६ वर्षका दुई बालकलाई पोखराबाट नियन्त्रणमा लिएको छ ।
साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक राज अवस्थीका अनुसार आगामी दिनमा पनि यस अभियानलाई निरन्तरता दिइनेछ । ब्युरोले यस्ता साइबर अपराधबाट पीडित भएकाहरूलाई नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा उजुरी दिनसमेत अनुरोध गरेको छ ।