काठमाडौं । नेपाली कांग्रेसले विभिन्न होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका सुकुम्वासी परिवारहरूलाई हटाउने सरकारी निर्णय तत्काल फिर्ता लिन जोडदार माग गरेको छ ।
बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सरकारको उक्त कदमप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै विस्थापित परिवारहरूको सुरक्षित, सम्मानजनक एवं दिगो पुनर्वास सुनिश्चित गर्न आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले मङ्सिर ११ गते (शनिबार) सम्मको म्याद दिँदै काठमाडौं उपत्यकाका होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीहरूलाई स्थान खाली गर्न सूचना जारी गरेपछि कांग्रेसले यस्तो निर्णय गरेको हो ।
भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन ढंगबाट समाधान गरिनुपर्ने कांग्रेसको ठहर छ । बैठकको निर्णयमा नागरिकलाई हटाएर नभई उनीहरूका समस्या हटाएर मात्र सुकुम्वासी समस्याको समाधान खोजिनुपर्ने उल्लेख गरिएको छ ।
यसैबीच, होल्डिङ सेन्टरका विषयमा आवश्यक समन्वय र सहजीकरण गर्न कांग्रेसले केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा तीन सदस्यीय समितिसमेत गठन गरेको छ । उक्त समितिमा केन्द्रीय सदस्यहरू मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्यका रूपमा रहेका छन् ।
चार दिनदेखि निरन्तर जारी रहेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा हालसम्म ७० जना केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखिसकेका छन् । बैठक शुक्रबार बिहान साढे ८ बजे पुनः बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।