काठमाडौं । बिहीबार कुवेतमा इरानले ड्रोन प्रहार गर्दा दुई जना इटालियन नागरिकको मृत्यु भएको छ । आक्रमणमा एक पाकिस्तानी र एक कुवेती नागरिक घाइते पनि भएका छन् ।
इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले दुई नागरिकको मृत्यु पुष्टि गरेका छन् । रोयटर्सका अनुसार दुवै जना जर्मन रक्षा कम्पनी राइनमेटलका प्राविधिक थिए ।
कुवेतको रक्षा मन्त्रालयले सेनाले देशको हवाई क्षेत्रमा धेरैवटा ड्रोन देखेको र तिनको प्रतिकार गरेको बताएको छ । रक्षा मन्त्रालयका अनुसार आक्रमणका क्रममा खसेको भग्नावशेषबाट मानिसहरू घाइते भएका छन्।
कुवेतमा इटालीको पनि सैन्य उपस्थिति छ । कुवेतका लागि इटालीका राजदूत लोरेन्जो मोरिनीले नोभेम्बर ४ मा त्यहाँ लगभग ४०० इटालियन सैनिक तैनाथ रहेको बताएका छन्, जसमध्ये धेरैजसो एयरबेसमा छन् ।
राजदूतका अनुसार इटालियन सैनिक इरान युद्धका बेला धेरै हप्तासम्म बंकर र सुरक्षित आश्रयस्थलमा बस्नुपरेको थियो । यसका बाबजुद उनीहरूले कुवेतमा आफ्नो तैनाथी जारी राखेका छन् ।
इजरायलले जुनसुकै बेला इरानमा आक्रमण गर्न सक्छ । इजरायली सेनाले बिहीबार अमेरिकाको सहयोगबिना पनि इरानविरुद्ध पूर्ण स्तरको सैन्य हमला गर्न तयार रहेको बताएको छ ।
सेनाका प्रवक्ता एफी डेफ्रिनले सरकारी प्रसारक कानसँग भनेका छन्, ‘सेनाले परिस्थितिको निगरानी गरिरहेको छ र जुनसुकै बेला आक्रमण गर्न सक्छ ।’