काठमाडौं ।सुदूरपश्चिम प्रदेशका विद्यार्थी संगठनहरूले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि निर्धारण गरिएको ९० सिट कुनै पनि बहानामा कटौती वा खारेज नगर्न सरकारसँग माग गरेका छन् ।
संयुक्त विद्यार्थी संगठनका तर्फबाट जिल्ला प्रशासन कार्यालय, कैलालीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरिएको हो ।
उनीहरूले विश्वविद्यालयको शैक्षिक कार्यक्रम तत्काल अघि बढाउन र पदाधिकारी नियुक्ति प्रक्रियामा गरिएको हस्तक्षेप रोक्न आग्रह गरेका छन् ।
ज्ञापनपत्रमा सुदूरपश्चिम प्रदेशको दशकौंदेखिको सपना र संघर्षको प्रतिफलस्वरूप स्थापना भएको विश्वविद्यालय यस क्षेत्रको गौरव र राष्ट्रिय महत्त्वको शैक्षिक परियोजना भएको उल्लेख छ ।
विश्वविद्यालयका लागि ९० सिट निर्धारण हुनु चिकित्सा शिक्षा आयोगको बैठकबाट भएको ऐतिहासिक उपलब्धि भएको भन्दै त्यसलाई कार्यान्वयन गर्नुपर्ने विद्यार्थी संगठनहरूको भनाइ छ ।
तर, नेपाल सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौतामा विश्वविद्यालयका लागि निर्धारण गरिएका ९० सिटको निर्णयमाथि पुनः छानबिन गर्ने विषय समावेश हुनु र पदाधिकारीको योग्यता तथा नियुक्तिसम्बन्धी व्यवस्था अध्यादेशमार्फत संशोधन गरी नयाँ नियुक्ति प्रक्रिया अघि बढाउने सहमति हुनुले विद्यार्थीहरू चिन्तित बनेको ज्ञापनपत्रमा उल्लेख छ ।
विद्यार्थी संगठनहरूले विश्वविद्यालयको स्वायत्तता, संस्थागत स्थायित्व र शैक्षिक विकासमा प्रतिकूल असर पर्ने कुनै पनि निर्णय नगर्न सरकारसँग माग गरेका छन् ।
कानुन संशोधन आवश्यक भए त्यसको स्पष्ट कारण, उद्देश्य र औचित्य सार्वजनिक गरी सरोकारवालासँग पर्याप्त परामर्श तथा कानुनी प्रक्रियाका आधारमा मात्रै अघि बढाउनुपर्ने उनीहरूको भनाइ छ ।
ज्ञापनपत्रमा विश्वविद्यालयको वर्तमान संस्थागत संरचना र पहिचान कमजोर पार्ने तथा यसको विकासमा हस्तक्षेप गर्ने कार्य तत्काल रोक्नुपर्ने मागसमेत गरिएको छ ।
विद्यार्थी संगठनहरूले विश्वविद्यालय कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति नभई सुदूरपश्चिमवासीको साझा सपना, हजारौं विद्यार्थीको भविष्य र राष्ट्रको स्वास्थ्य शिक्षा तथा शैक्षिक विकाससँग जोडिएको संस्था भएको उल्लेख गरेका छन् ।
माग सम्बोधन नभए विद्यार्थी, अभिभावक, नागरिक समाज तथा सुदूरपश्चिमवासीको सहभागितामा शान्तिपूर्ण र सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

