१२ लाखभन्दा बढी पुरस्कारको सीटीएफ प्रतियोगितामा सफ्टवेरिकाका विद्यार्थी शीर्ष तीनमा

काठमाडौं । बीसाइड्स काठमाडौं २०२६ अन्तर्गत आयोजित साइबर सुरक्षा प्रतियोगिता ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) मा सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई-कमर्सका विद्यार्थीले पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् ।

शनिबार, नोभेम्बर २१ मा बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजित प्रतियोगितामा कलेजका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै तीनै स्थानमा कब्जा जमाएका हुन् । प्रतियोगितामा नौ टोलीका २८ जना सहभागी थिए ।

प्रतियोगितामा सहभागीहरूले लाइभ ह्याकिङ, समस्या समाधान तथा वास्तविक साइबर सुरक्षा परिस्थितिमा आधारित चुनौतीहरूको सामना गरेका थिए । प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने टोलीलाई १२ लाख रुपैयाँभन्दा बढी मूल्यका पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा सफ्टवेरिकाको ‘V1olet’ टोली पहिलो, ‘Pri5m’ टोली दोस्रो र ‘Sudo_Siblings’ टोली तेस्रो भएको छ । पहिलो स्थान हासिल गर्ने टोलीमा गौरव पौडेल, सोच्न डंगोल, रिधम पाण्डे र प्रत्युष राजभण्डारी रहेका थिए । दोस्रो स्थानको टोलीमा प्रणय निधि, सुबेग सुवाल, दिपेश गिरी र योगेन्द्र बडु थिए । त्यस्तै, तेस्रो स्थान हासिल गर्ने टोलीमा बिशेष खड्का, विकी ताजपुरिया, सफल गौतम र महेन्द्र नाथ सहभागी थिए ।

बीसाइड्स साइबर सुरक्षा समुदायमा आधारित विश्वव्यापी कार्यक्रम हो । नेपालमा आयोजना गरिएको बीसाइड्स काठमाडौंलाई यस समुदायको पहिलो संस्करणका रूपमा प्रस्तुत गरिएको छ । बीसाइड्सका कार्यक्रम विश्वका ७४ देशका ३०५ सहरमा आयोजना हुँदै आएका छन् ।

प्रतियोगितामा Hack@Sec आधिकारिक सीटीएफ साझेदारका रूपमा रहेको थियो भने CVEPlayground ले प्रतियोगिताका लागि आवश्यक पूर्वाधार सहयोग गरेको थियो । 

Share News