नेपालमा आईआईटीको शाखा खोल्ने भारतको प्रस्ताव

नयाँ विषयमा छात्रवृत्ति र सीपमूलक तालिममा सहकार्य गरिने

काठमाडौं । नेपाल र भारतबीच शिक्षा, सीप विकास तथा मानव संसाधन अभिवृद्धिका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने सहमति भएको छ । 

दुई देशबीचको साझेदारीलाई नयाँ ढंगले अघि बढाउने उद्देश्यसहित सार्वजनिक गरिएको ‘विकसित भारत र समुन्नत नेपालः साझेदारीको पुनर्कल्पना’दस्तावेजमा शैक्षिक सहकार्यलाई प्राथमिकता दिइएको छ ।

दस्तावेजमा भारतका प्रतिष्ठित उच्च शैक्षिक संस्थाका शाखा तथा क्याम्पस नेपालमा स्थापना गर्ने सम्भावना खोजिने उल्लेख छ । 

यसको सुरुवात भारतीय प्रविधि संस्थान (आईआईटी) को शाखा वा क्याम्पस स्थापनाबाट गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, नेपाली विद्यार्थीलाई प्रदान गरिँदै आएका छात्रवृत्ति कार्यक्रमलाई विस्तार गर्दै कानुन, प्रविधि र कृत्रिम बौद्धिकता (एआई) जस्ता नयाँ विषयमा समेत छात्रवृत्ति तथा तालिमका अवसर उपलब्ध गराइने उल्लेख छ ।

दुवै देशका शैक्षिक तथा तालिम संस्थाबीच सहकार्य बढाउनुका साथै प्राध्यापक र विषयविज्ञको आदानप्रदानलाई प्रोत्साहन तथा संस्थागत गर्ने योजना पनि दस्तावेजमा समेटिएको छ । 

यसैगरी, भारतको सहयोगमा नेपालमा व्यावसायिक तालिम संस्था स्थापना गरिने प्रस्ताव गरिएको छ । उक्त संस्थामार्फत नेपाली युवालाई उत्पादन, सेवा क्षेत्र तथा उद्यमशीलतासँग सम्बन्धित सीप र तालिम प्रदान गरिने जनाइएको  छ ।

दस्तावेजले सीप विकास, क्षमता अभिवृद्धि, मानव संसाधन विकास र शैक्षिक आदानप्रदानलाई नेपाल–भारत साझेदारीको महत्त्वपूर्ण क्षेत्रका रूपमा अघि सारेको छ ।

Share News