काठमाडौं । नबिल बैंकले भिसा इन्टरनेशनलबाट प्रदान गरिने दुई महत्वपूर्ण विधामा अवार्ड जितेको छ ।
बैंकले यस वर्ष ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इसुइङ’ र ‘एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड प्राप्त गरेको हो ।
काठमाडौंस्थित मेरियट होटलमा सोमबार आयोजित भिसा लिडरसिप कन्क्लेभमा नबिल बैंकका प्रतिनिधिले अवार्ड ग्रहण गरेका थिए । बैंकले यसअघि पनि यी विधामा अवार्ड जित्दै आएको जनाएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले अवार्डले ग्राहकलाई सहज र सुविधाजनक सेवा दिन निरन्तर नवीनता तथा प्रविधिको प्रयोग गर्न थप ऊर्जा दिएको बताए ।
‘यस अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रति प्रतिबद्ध रहन थप प्रेरणा प्रदान गरेको छ,’ उनले भने ।
भिसा इन्टरनेशनल कार्ड भुक्तानी सेवा प्रदायक कम्पनी हो । कम्पनीले नेपालमा हरेक वर्ष भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ । नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा भिसाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
नबिल बैंक चार दशकभन्दा लामो बैंकिङ अनुभव भएको नेपालको अग्रणी बैंकमध्ये एक हो । बैंकले नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङलाई सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको जनाएको छ ।
‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई अघि बढाउँदै आएको बैंकले देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा दिँदै आएको छ ।