काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले भिसा इन्टरनेशनलबाट दुई उत्कृष्टता अवार्ड प्राप्त गरेको छ ।
भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा कार्ड व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै बैंकलाई दुई अवार्ड प्रदान गरिएको हो ।
बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर प्रिपेड कार्ड बिजनेस’ र ‘एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट कार्ड बिजनेस’ विधामा अवार्ड पाएको जनाएको छ ।
ग्राहकलाई सुरक्षित, छरितो र आधुनिक डिजिटल बैंकिङ सेवा दिने उद्देश्यले बैंकले क्रेडिट कार्ड तथा प्रिपेड कार्ड सेवाको विस्तार गर्दै आएको छ । अवार्डले बैंकको सेवा गुणस्तर र प्रविधिमैत्री सेवाप्रति ग्राहकको विश्वास बढ्दै गएको पुष्टि गरेको बैंकको भनाइ छ ।
बैंकका अनुसार २०८३ असार मसान्तसम्म नेपालका बैंकहरूले ३ लाख ३० हजार क्रेडिट कार्ड जारी गरेका थिए । त्यसमध्ये सिद्धार्थ बैंकको हिस्सा करिब ६९ हजार कार्ड रहेको छ । यस आधारमा क्रेडिट कार्ड बजारमा बैंकको हिस्सा करिब २१ प्रतिशत छ ।
त्यस्तै, सोही अवधिसम्म बजारमा २ लाख ८० हजार प्रिपेड कार्ड जारी भएका थिए । तीमध्ये सिद्धार्थ बैंकले करिब ४२ हजार कार्ड जारी गरेको जनाएको छ ।
क्रेडिट कार्ड सेवा थप सहज बनाउन बैंकले मंसिर २९, २०८३ सम्म लाइफटाइम निःशुल्क क्रेडिट कार्डका लागि आवेदन दिन सकिने सुविधा पनि उपलब्ध गराएको छ ।