सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले सडक दुर्घटना तथा विपद्मा घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा दिन सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने नीति लिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएकी हुन् ।

उनका अनुसार प्रादेशिक ट्रमा सेन्टरमा आवश्यक उपकरण, दक्ष जनशक्ति, विभिन्न विशेषज्ञ चिकित्सकको टोली र प्रभावकारी व्यवस्थापन हुनेछ । यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशमै गर्न सकिने र बिरामीलाई अन्य अस्पतालमा पठाउने व्यवस्था पनि सहज हुने उनले बताइन् ।

मन्त्री मेहताले दुर्घटनापछि अस्पताल पुग्नुअघि दिइने आकस्मिक सेवालाई प्रभावकारी बनाउन सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागू गरिसकेको जानकारी दिइन् । देशभर एउटै आकस्मिक नम्बर १०२ बाट सेवा दिन संघीय र सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई २४ घण्टा सञ्चालनमा राखिएको उनले बताइन् ।

एम्बुलेन्सलाई सामान्य यातायातको साधन नभई आकस्मिक उपचार सेवा दिने साधनका रूपमा विकास गर्ने सरकारको नीति रहेको उनको भनाइ थियो ।

उनले ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित नगरी शारीरिक पुनर्स्थापना तथा मनोसामाजिक परामर्श सेवालाई पनि संस्थागत गर्नुपर्नेमा जोड दिइन् । दुर्घटनापछि देखिन सक्ने शारीरिक अपाङ्गता र मानसिक समस्यालाई सम्बोधन गर्न पुनर्स्थापना सेवा विस्तार गरिने उनले बताइन् ।

राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत सुदृढीकरणमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री मेहताले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृति र दरबन्दी व्यवस्थापनका विषय छिट्टै टुंग्याइने बताइन् ।

विपद्, महामारी तथा सवारी दुर्घटनाका समयमा राष्ट्रिय ट्रमा सेन्टरले अग्रपङ्क्तिमा रहेर सेवा दिँदै आएको उनले उल्लेख गरिन् । विशेषज्ञ उपचार सेवा स्वदेशमै विस्तार हुँदा उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्न सहयोग पुगेको उनको भनाइ थियो ।

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबीचको सहकार्य थप सुदृढ गर्दै ट्रमा उपचार सेवालाई प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री मेहताले बताइन् । 

Share News