काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले सरकारसँग भएको सहमतिविपरीत छानबिन समिति गठन गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले समितिको गठन र कार्यक्षेत्र तत्काल नसच्याए पुनः सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।
२५औँ सत्याग्रहका क्रममा गत कार्तिक २१ गते सरकारसँग भएको सहमतिको बुँदा नम्बर १ कार्यान्वयनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिको कार्यक्षेत्र सहमतिको मर्म र उद्देश्यभन्दा फरक रहेको डा. केसीको आरोप छ ।
बुधबार विज्ञप्ति जारी गर्दै उनले सहमतिअनुसार समितिको गठन र कार्यक्षेत्र तत्काल सच्याउन सरकारसँग माग गरेका छन् । सहमति कार्यान्वयनमा आलटाल गरिएको र सरकारी पक्ष गैरजिम्मेवार ढङ्गले विचलित भएको भन्दै उनले गम्भीर आपत्ति जनाएका छन् ।
सरकारको मागअनुसार आफूहरूले सिफारिस गरेका चिकित्सा शिक्षाका विज्ञलाई समितिमा समावेश नगरिएको डा. केसीको भनाइ छ । समिति गठन गर्न झण्डै तीन साता लगाइएको तर कार्यावधि एक सातामात्र दिइएको भन्दै उनले सरकारी कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
सरकारसँग भएको सहमतिको बुँदा नम्बर १ मा चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन अनुमति तथा सिट निर्धारण र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सिट वृद्धि गर्दा निर्धारित मापदण्ड पालना भए–नभएको छानबिन गर्ने उल्लेख छ ।
त्यस्तै, मापदण्ड उल्लङ्घन वा स्वार्थको द्वन्द्व भएको पाइएमा संलग्न पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउने र प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्ने सहमति भएको थियो ।
तर, मन्त्रालयले गठन गरेको समितिलाई संस्थाहरूको स्थलगत अनुगमन गरी कार्यक्रम सञ्चालन गर्न सक्षम भए–नभएको मूल्याङ्कन गर्ने कार्यक्षेत्र दिइएको डा. केसीले बताएका छन् । यसले निर्णय प्रक्रिया, मापदण्डको पालना, स्वार्थको द्वन्द्व र जिम्मेवार पदाधिकारीको जवाफदेहितामाथिको छानबिनलाई समेट्न नसकेको उनको आरोप छ ।
‘संस्थाको सञ्चालन क्षमता परीक्षण गर्नु र निर्णय प्रक्रिया तथा मापदण्ड उल्लङ्घनको छानबिन गर्नु फरक विषय हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘स्थलगत अनुगमन छानबिनको एउटा माध्यम हुन सक्छ, तर सहमतिले तोकेको मूल उद्देश्यको विकल्प बन्न सक्दैन ।’
डा. केसीले कुनै व्यक्ति वा संस्थालाई पूर्वाग्रहपूर्ण ढङ्गले दोषी ठहर गर्ने नभई निर्णय प्रक्रियाको निष्पक्ष छानबिन, मापदण्डको पूर्ण पालना, स्वार्थको द्वन्द्वको पहिचान र जिम्मेवार पदाधिकारीको जवाफदेहिता सुनिश्चित गर्न आफूहरूको माग रहेको स्पष्ट पारेका छन् ।
सहमतिको बुँदा नम्बर ४ बमोजिम गठित सहमति कार्यान्वयन अनुगमन कार्यदलको बैठकमा सदस्यहरू डा. बद्री रिजाल, विजय बाबु शिवाकोटी र डा. अमृत जैसीलाई सहभागी नगराइएकोप्रति पनि उनले विमति जनाएका छन् । यसबाट सरकारी पक्षको बदनियत स्पष्ट भएको उनको दाबी छ ।
सहमति औपचारिकताका लागि नभई सरकारको प्रतिबद्धता हुनुपर्ने भन्दै डा. केसीले सहमतिका सबै बुँदा अक्षरशः कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
सहमति कमजोर बनाउने वा मूल उद्देश्यबाट विचलित गर्ने कार्य स्वीकार्य नहुने चेतावनी दिँदै उनले सहमतिका अन्य बुँदाहरू पनि तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । अन्यथा सत्याग्रहलगायतका आन्दोलन पुनः सुरु गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सरकार स्वयं हुने उनले चेतावनी दिएका छन् ।