औषधी उद्योगमा प्रयोग हुने इथानोलको गुणस्तर अनिवार्य जाँच गर्न निर्देशन

काठमाडौं । औषधी उद्योगमा प्रयोग हुने ९५ प्रतिशत इथानोल (रेक्टिफाइड स्पिरिट) को गुणस्तर अनिवार्य रूपमा परीक्षण गरेर मात्रै प्रयोग गर्न औषधी व्यवस्था विभागले निर्देशन दिएको छ ।

विभागले रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को प्रयोगसम्बन्धी संशोधित सूचना जारी गर्दै औषधी उद्योगहरूलाई यसको गुणस्तर सुनिश्चित गर्न निर्देशन दिएको हो ।

विभागका अनुसार औषधी उद्योगका विभिन्न प्रयोजनमा सहायक कच्चा पदार्थका रूपमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटले औषधीको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।

हालसम्म विभिन्न अल्कोहल डिस्टिलरी तथा चिनी मिललगायत उद्योगबाट व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुँदै आएको रेक्टिफाइड स्पिरिट औषधी उद्योगमा प्रयोग हुँदै आएको छ । 

तर, यसको उत्पादन तथा प्रशोधन प्रक्रिया आधिकारिक औषधी मापदण्डअनुसार भए/नभएको र सोहीअनुसार परीक्षण तथा विश्लेषण गरिएको भए/नभएको सुनिश्चित गर्नुपर्ने विभागको भनाइ छ ।

अब औषधी उद्योगले रेक्टिफाइड स्पिरिट प्रयोग गर्दा इन्डियन फार्माकोपिया (आईपी), ब्रिटिस फार्माकोपिया (बीपी) , युनाइटेड स्टेट्स फार्माकोपिया (यूएसपी) लगायत मान्यताप्राप्त औषधिसम्बन्धी ग्रन्थमा तोकिएका मापदण्डअनुसारको गुणस्तर कायम भएको हुनुपर्नेछ ।

विभागले उक्त व्यवस्था सूचना प्रकाशित भएको मितिले ३५ दिनपछि अनिवार्य रूपमा लागू हुने जनाएको छ । 

विभागको विभागीय निर्णयअनुसार औषधी उद्योग तथा सम्बन्धित सरोकारवालालाई यसबारे जानकारी गराइएको सूचनामा उल्लेख छ ।

Share News