नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं । वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा स्नातकोत्तर (पीजी) तहमा आवासीय तालिमरत प्रथम वर्षका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् ।

सुरक्षित, सम्मानजनक र निष्पक्ष वातावरणमा तालिम निरन्तरता दिन सम्भव नभएको भन्दै उनीहरूले शिक्षा तथा खेलकुद मन्त्रालयलाई सम्बोधन गरी राजीनामा पेस गरेका हुन् ।

चिकित्सकहरूले कलेजका कार्य तथा अभ्यासविरुद्ध गत भदौ ३१ गतेदेखि शान्तिपूर्ण ‘पेन डाउन’ आन्दोलन सुरु गरेका थिए । तर, समस्या समाधान नभएपछि अन्य विकल्प नदेखेर राजीनामा दिन बाध्य भएको उनीहरूले निवेदनमा उल्लेख गरेका छन् ।

निवेदनअनुसार विगत दुई महिनामा शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीन कार्यालय र कलेज प्रशासनसँग पटक–पटक बैठक बसेको थियो ।

बैठकमा चिकित्सकहरूले आफूमाथि लगाइएका आरोपका प्रमाणसमेत पेस गरेका थिए । तर, सरोकारवाला निकायले समस्या समाधान गर्न नसकेको र समाधान हुने आश्वासन मात्रै दिएको उनीहरूको भनाइ छ ।

समस्या समाधान नभएपछि अवस्था गम्भीर संकटमा परिणत भएको र सुरक्षित तथा सम्मानजनक वातावरणमा तालिम जारी राख्न नसक्ने निष्कर्षमा पुगेको चिकित्सकहरूले बताएका छन् ।

राजीनामाको बोधार्थ चिकित्सा शिक्षा आयोग, आईओएमको डीन कार्यालय र नेशनल मेडिकल कलेज प्रशासनलाई समेत दिइएको छ । 

Share News