स्वास्थ्य व्यवसायी परिषद्मा तालाबन्दी गर्दै डेन्टल साइन्स हाइजेनिस्टको रिले अनशन

काठमाडौं । माग सुनुवाइ नभएको भन्दै डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा तालाबन्दी गर्दै रिले अनशन सुरु गरेको छ ।

एसोसिएसनका अध्यक्ष तथा डेन्टल साइन्स हाइजेनिस्ट माइकल देवकोटाका अनुसार परिषद्का अध्यक्षको कार्यकक्ष र परीक्षा शाखामा तालाबन्दी गरेर आन्दोलन सुरु गरिएको हो ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद् र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग पटक–पटक छलफल गर्दा पनि निष्कर्ष ननिस्किएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको एसोसिएसनले जनाएको छ ।

एसोसिएसनले परिषद् ऐनको व्यवस्था कार्यान्वयन, डेन्टल समूहको छुट्टै निर्वाचन, कार्यकाल सकिएका सदस्यलाई जिम्मेवारीबाट हटाउने र निर्णय प्रक्रियामा स्वार्थको द्वन्द्व हुन नदिने लगायतका माग अघि सारेको छ ।

त्यस्तै, परिषद्बाट सञ्चालन हुने परीक्षा प्रणाली पारदर्शी र निष्पक्ष बनाउन, विगतमा भएका सहमति कार्यान्वयन गर्न तथा डेन्टल जनशक्तिको पेशागत हकहित, सुरक्षा र कार्यक्षेत्र संरक्षण गर्न पनि माग गरिएको छ ।

एसोसिएसनले डेन्टल साइन्स हाइजेनिस्ट तथा सम्बन्धित पेशागत संघ–संस्थाको परिषद्मा कानुनअनुसार प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । डेन्टल समुदायको मात्र छुट्टै निर्वाचन हुने गरी परिषद्को नियमावली संशोधन गर्नुपर्ने मागसमेत राखिएको छ । 

एसोसिएसनका १० बुँदे माग

१. नेपाल स्वास्थ्य व्यवसायी परिषद्विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने तथा विवादमा प्रत्यक्ष संलग्न व्यक्तिको परिषद्मा प्रतिनिधित्वसम्बन्धी निर्णय पुनरावलोकन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने।

२. स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई सम्बन्धित विषयको निर्णय प्रक्रियामा सहभागी नगराउने व्यवस्था गर्नुपर्ने।

३. परिषद्मा दर्ता भएका डेन्टल साइन्स हाइजेनिस्ट तथा सम्बन्धित पेशागत संघ–संस्थाको कानुनबमोजिम प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने।

४. डेन्टल समुदायको मात्र छुट्टै निर्वाचन हुने गरी परिषद्को नियमावली संशोधन गर्नुपर्ने।

५. परिषद् सदस्यहरूको कार्यकाल स्पष्ट गरी पदावधि समाप्त भएका सदस्यलाई जिम्मेवारीमा निरन्तरता दिन नहुने।

६. नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐनको दफा १० को व्यवस्था अक्षरशः पालना गर्नुपर्ने।

७. नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, परिषद् तथा पेशागत संघ–संस्थाबीच भएका विगतका सहमति र सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने।

८. परिषद्बाट सञ्चालन हुने परीक्षा प्रणालीलाई व्यवस्थित, पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन सुधार तथा अनुगमन गर्नुपर्ने।

९. परिषद्मा दर्ता भएका डेन्टल साइन्स हाइजेनिस्ट तथा सम्बन्धित जनशक्तिको पेशागत हकहित, सम्मान, सुरक्षा र कार्यक्षेत्र संरक्षण गर्नुपर्ने।

१०. डेन्टल जनशक्तिको कार्यक्षेत्र, अधिकार तथा अवसरसम्बन्धी निर्णय गर्दा सम्बन्धित पेशागत संघ–संस्थासँग परामर्श र समन्वय गर्नुपर्ने। 

Share News