काठमाडौं । औषधि व्यवस्था विभागले राष्ट्रिय अत्यावश्यक औषधिको सूची (एनएलईएम) को सातौँ संस्करण स्वीकृत गरेको छ । नयाँ सूचीमा ५२ वटा औषधि थपिएका छन् भने १४ वटा हटाइएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सन् २०२५ को नमुना सूचीसँग तालमेल मिलाएर तयार गरिएको नयाँ सूचीमा कुल ४३६ वटा औषधि समावेश गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार नयाँ संस्करणमा कुल १३९ वटा परिवर्तन गरिएको छ । जसमा ५२ वटा नयाँ औषधि थपिएका, १४ वटा हटाइएका, ३२ वटा लाइन एक्सटेन्सन, ८ वटा लाइन डिलिसन र ३३ वटा औषधिमा परिमार्जन गरिएका छन् ।
नयाँ थपिएका औषधिमध्ये सबैभन्दा धेरै इम्युनोमोड्युलेटर्स तथा एन्टिनियोप्लास्टिक समूहका ९ वटा र एन्टिइन्फेक्टिभ समूहका ५ वटा औषधि छन् ।
नयाँ सूचीमा मधुमेह उपचारमा प्रयोग हुने डापाग्लिफ्लोजिन र सेमाग्लुटाइड समावेश गरिएको छ । त्यस्तै, क्यान्सर उपचारका लागि प्रयोग हुने बोर्टेजोमिब, डासाटिनिब, रिटुक्सिम्याब र पेम्ब्रोलिजुम्याबजस्ता लक्षित तथा इम्युनोमोड्युलेटरी औषधि पनि थपिएका छन् ।
पोषण उपचारका लागि प्रयोग हुने एफ–७५, एफ–१००, आरयुटीपी तथा मल्टिपल माइक्रोन्युट्रिएन्ट सप्लिमेन्ट र पाउडरलाई पनि सूचीमा समावेश गरिएको छ ।
डब्लूएचओको नमुना सूचीअनुसार नयाँ खण्ड तथा उपखण्ड थप गरिएको छ । उपशामक हेरचाहअन्तर्गत अन्य सामान्य लक्षणका औषधि र चिकित्सा गर्भपतनका औषधिका लागि छुट्टाछुट्टै खण्ड बनाइएको छ । दन्त स्वास्थ्यसम्बन्धी औषधिलाई भने पुरानो सेक्सन २८ बाट सेक्सन ३० मा सारिएको छ ।
उपचार पद्धतिमा आएको परिवर्तन, सुरक्षित विकल्पको उपलब्धता र सीमित उपयोगितालाई आधार मानेर १४ वटा औषधि हटाइएको विभागले जनाएको छ । हटाइएका औषधिमा स्ट्रेप्टोकाइनेज, इफाभिरेन्ज, क्विनिन, डिसेल्फिराम, आइरन डेक्स्ट्रान र एमिनोफाइलिनलगायत छन् ।
नेपालमा राष्ट्रिय अत्यावश्यक औषधि सूचीसम्बन्धी कार्यक्रम सन् १९७८ मा सुरु भएको थियो । पहिलो सूची सन् १९८६ मा सार्वजनिक गरिएको थियो । यसअघि सन् २०२१ मा सूची संशोधन गरिएको थियो ।
सातौँ संस्करण तयार गर्ने क्रममा ३०० भन्दा बढी प्रस्तावको मूल्याङ्कन गरिएको विभागले जनाएको छ । संशोधन प्रक्रियामा डब्लूएचओ नेपाल र हेलेन केलर इन्टरनेसनल नेपालको प्राविधिक सहयोग लिइएको थियो ।
मन्त्रालयका सचिव डा. विकास देवकोटाले नयाँ सूचीलाई सरकारी स्वास्थ्य संस्थाको औषधि खरिद प्रणाली, स्वास्थ्य सेवा प्रवाह तथा क्लिनिकल अभ्यासमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन् । सूची स्वीकृत गर्नु मात्र पर्याप्त नभई सरकारी स्वास्थ्य संस्थाले औषधि खरिददेखि बिरामीको उपचारसम्म यसको प्रयोग सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।