काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनमार्फत पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ ।
विधान मस्यौदा समितिले पदाधिकारी थप गर्ने प्रस्तावसहित विधानको मस्यौदा तयार पारेको छ ।
समितिले तयार पारेको मस्यौदामाथि देउवा पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा जारी बैठकमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
उनका अनुसार बैठकले पदाधिकारीको संख्या र कुन–कुन पद थप गर्ने भन्ने विषयमा अन्तिम टुंगो लगाउने तयारी गरेको छ ।
ती नेताका अनुसार पार्टीभित्र सबै पक्ष र समूहको प्रतिनिधित्व सुनिश्चित गर्न पदाधिकारीको संख्या बढाउनुपर्ने सुझाव तल्लो तहबाटै आएको थियो । सोही सुझावका आधारमा मस्यौदा समितिले पदाधिकारी थप गर्ने प्रस्ताव अघि सारेको हो ।
‘सबैको प्रतिनिधित्व सुनिश्चित गर्न पदाधिकारीको संख्या बढाउनुपर्छ भन्ने सुझाव तलबाट पनि आएको छ । त्यहीअनुसार मस्यौदा समितिले मस्यौदा तयार पारेको हो,’ ती नेताले भने ।
कुन पदमा कति संख्या थप गर्ने भन्ने विषय भने बैठकबाट टुंगो लाग्ने उनको भनाइ छ ।
यसअघि गगनकुमार थापा नेतृत्वको संस्थापन पक्षले पनि विधान संशोधन गर्दै पदाधिकारीको संख्या बढाएको थियो । त्यसको सिको गर्दै देउवा पक्षले पनि समानान्तर महाधिवेशनका लागि तयार पारेको विधानमा पदाधिकारी थप गर्ने प्रस्ताव गरेको हो ।
यसैबीच, देउवा पक्षको समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्चमा हुने भएको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा जारी बैठकमा निर्वाचन समितिका संयोजक अधिवक्ता एकराज पोखरेलले महाधिवेशनस्थल र तयारीबारे जानकारी गराएका छन् ।