काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थ लुकाएर ल्याउने दुई चिनियाँ महिला पक्राउ परेका छन् । उनीहरूको साथबाट २ किलो ३४८ ग्राम तौलको सुनजस्तो देखिने पहेँलो पदार्थ बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।
हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौं आएका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा पक्राउ गरेको हो । मङ्गलबार राति करिब ११ः१५ बजे उनीहरू भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा प्रहरीले जाँच गरेको थियो ।
न्यौपानोका अनुसार पक्राउ पर्नेमा चीनको ग्वाङदोङ स्थायी ठेगाना भएकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन् । उनीहरूले शरीरभित्र तथा भित्री वस्त्रमा प्लास्टिकले बेरेर सुनजस्तो देखिने पहेँलो पदार्थ लुकाएर ल्याएको पाइएको छ ।
लिन लिनाको साथबाट पाँच थान गोलाकार अर्धठोस पदार्थ बरामद भएको छ । प्लास्टिकसहित उक्त पदार्थको तौल १ हजार ३४० ग्राम रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी लिन सिनपिङको साथबाट तीन थान गोलाकार अर्धठोस पदार्थ बरामद भएको छ । प्लास्टिकसहित त्यसको तौल १ हजार ८ ग्राम रहेको छ ।
दुवै महिलाको साथबाट गरी आठ थान पदार्थ बरामद भएको हो । प्रहरीले बरामद सामग्रीको कुल तौल २ हजार ३४८ ग्राम रहेको जनाएको छ ।
प्रहरीले दुवै महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।