कांग्रेस देउवापक्षको गण्डकी सभापतिमा मेखलाल श्रेष्ठ सर्वसम्मत

मेखलाल श्रेष्ठ ।

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आयोजना गरेको गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट मेखलाल श्रेष्ठ प्रदेश सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार पोखरामा सुरु भएको अधिवेशनले श्रेष्ठलाई प्रदेश सभापतिमा चयन गरेको हो । 

स्याङ्जाका श्रेष्ठ गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री हुन् । उनी यसअघि प्रदेश कार्यसमितिका उपसभापति तथा अधिवेशन आयोजक समितिका संयोजक थिए ।

अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गरेका थिए । उद्घाटन समारोहमा कांग्रेसका वरिष्ठ नेता डा. शशांक कोइरालालगायत नेताहरू सहभागी थिए ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट एक हजार ६०१ भन्दा बढी प्रतिनिधि सहभागी भएका थिए । 

३६ प्रदेश निर्वाचन क्षेत्र, १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ८५ स्थानीय तह तथा भ्रातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरू अधिवेशनमा सहभागी थिए ।

सभापति चयनको प्रारम्भिक घोषणाका क्रममा निर्वाचन समितिले मेखलाल श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको स्याङ्जाका नेता इन्द्र रिजालले जानकारी दिए । 

उनका अनुसार सभापतिमा श्रेष्ठको एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन् । कार्यसमिति सदस्यहरू पनि सर्वसम्मत चयन भएका छन् ।

तर, दुई उपसभापति, दुई महामन्त्री र तीन सहमहामन्त्री पदमा भने सहमति जुट्न सकेको छैन । 

उपसभापतिका लागि ११, महामन्त्रीका लागि तीन र सहमहामन्त्रीका लागि १२ जनाले उम्मेदवारी दिएका छन् । कोषाध्यक्ष पदमा भने उम्मेदवारी परेको छैन ।

Share News