नेपाल-भारत सम्बन्ध हिमालयजस्तै अटल, महासागराजस्तै विशाल: प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत नयाँ उचाइमा पुर्याउनुपर्ने बताएका छन् ।

भारतको नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको उपस्थितिमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धको आधार आपसी सम्मान, अटल विश्वास र अटुट सद्भाव रहेको बताए । उनले दुई देशबीचको सम्बन्ध हिमालयजस्तै अटल र महासागरीजस्तै विशाल रहेको उल्लेख गरे ।

भगवान् पशुपतिनाथ, माता जानकी तथा करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद र नेपाली जनताको स्नेह, प्रेम तथा सद्भाव बोकेर आफू भारत आएको बताउँदै प्रधानमन्त्री शाहले न्यानो आतिथ्य र निमन्त्रणाका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरे ।

उनले भारतलाई नेपालको भरपर्दो र विश्वसनीय छिमेकीका रूपमा चित्रण गर्दै प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा भारतले गर्दै आएको सहयोगको प्रशंसा गरे । यसका लागि उनले भारत सरकार र भारतीय जनताप्रति धन्यवाद व्यक्त गरे ।

प्रधानमन्त्री शाहका अनुसार हालै सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धका सबै पक्षमा स्पष्ट र सारगर्भित छलफल भएको छ । वार्ताका क्रममा प्रमुख पूर्वाधार परियोजनाको उद्घाटन तथा शिलान्यासका साथै विभिन्न क्षेत्रमा महत्त्वपूर्ण समझदारी भएका छन् ।

उनले दुई देशबीच भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल किसानको खेतबारीमा समृद्धि, युवाको हातमा रोजगारी र अवसर, विद्यार्थीका लागि नयाँ सम्भावना तथा उद्यमीका लागि बजार, लगानी र व्यवसाय विस्तारका रूपमा देखिनुपर्ने बताए ।

नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन ऐतिहासिक जगमा भविष्यका लागि बलिया आधार निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले दुवै देशबीचको साझेदारीलाई नयाँ उचाइमा पुर्याउनु आजको आवश्यकता भएको उल्लेख गरे ।

जलवायु परिवर्तनको चुनौती सामना गर्न नेपाल र भारतले संयुक्त प्रयास गर्नुपर्ने पनि प्रधानमन्त्री शाहले बताए । हिमालयका जलस्रोतले यस क्षेत्रका करोडौँ मानिसको जीवन धानेको उल्लेख गर्दै उनले हिमालयबाट बग्ने नदीहरूले दुवै देशको साझा भविष्य र नियतिलाई जोडेको बताए ।

भगवान् राम र माता जानकीको समयदेखि नै नेपाल र भारत ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धमा जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले हालै उद्घाटन गरिएको रेल सेवाले उक्त सम्बन्धलाई थप जीवन्त बनाउने बताए । उनले ऐतिहासिक सम्बन्धलाई युवा पुस्ताका लागि अवसर सिर्जना गर्ने रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री शाहले भारतीय लगानीकर्तालाई नेपालको आर्थिक समृद्धिमा साझेदार बन्न आग्रह गर्दै नेपालमा लगानी गर्न स्वागतसमेत गरे । नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थानमा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउनुपर्ने र दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

उनले साझा तथा समृद्ध भविष्यका लागि दुवै देशले संयुक्त दृष्टिकोण दस्ताबेज सार्वजनिक गर्ने र संयुक्त प्रेस विज्ञप्तिमार्फत आपसी उपलब्धि सार्वजनिक गर्ने जानकारी दिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन् । साथै, उनले भारतीय जनतालाई नेपालको भ्रमण गर्न आग्रह गर्दै मुक्तिनाथ, पशुपतिनाथ, जानकी मन्दिर, जीवित देवी कुमारी र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न आमन्त्रण गरे ।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको मित्रता हिमालयजस्तै अग्लो विश्वास र नदीजस्तै निरन्तर बगिरहने सहकार्यमा आधारित हुनुपर्ने बताए । दुवै राष्ट्रको साझा समृद्धिको कामना गर्दै उनले आफ्नो सम्बोधन टुङ्ग्याएका थिए ।

Share News