एन्टिबायोटिकको जथाभावी प्रयोगले बढायो जनस्वास्थ्य जोखिम

काठमाडौं । एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले यसको प्रभावकारिता घट्दै गएको र प्रतिजैविक प्रतिरोधको जोखिम बढ्दै गएको भन्दै जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् । चिकित्सकको सल्लाहबिना औषधि सेवन गर्ने, गलत रोगमा प्रयोग गर्ने तथा निर्धारित मात्रा र अवधिअनुसार औषधि नलिने प्रवृत्तिले सामान्य सङ्क्रमणको उपचारसमेत कठिन बन्दै गएको उनीहरूको भनाइ छ ।

‘विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह’का अवसरमा काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले जनस्वास्थ्य सरोकार ट्रष्टसँगको सहकार्यमा स्वास्थ्यकर्मीका लागि आयोजना गरेको प्रतिजैविक प्रतिरोधसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । यस वर्ष ‘एक स्वास्थ्य, एक कार्य: प्रतिजैविक प्रतिरोध अहिले नै रोकौँ’ भन्ने नारासहित सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेको छ ।

सामान्य सङ्क्रमण निको पार्न प्रयोग गरिने औषधिले नै काम गर्न छाडेमा उपचार कठिन हुनुका साथै मानिसको जीवनसमेत जोखिममा पर्न सक्ने विज्ञहरूले बताएका छन् । सूक्ष्मजीवले औषधिको प्रभाव निष्प्रभावी बनाउने क्षमता विकास गर्दै जाँदा प्रतिजैविक प्रतिरोध विश्वव्यापी जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ ।

कार्यक्रममा महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्नु, भाइरल सङ्क्रमणमा यसको प्रयोग गर्नु, निर्धारित मात्रा र अवधिअनुसार औषधि नलिनु तथा बाँकी औषधि पुनः प्रयोग गर्नु प्रतिरोध बढाउने प्रमुख कारण रहेको बताए ।

उनले काठमाडौं उपत्यकालाई एउटै प्रशासनिक संरचनामा राखेर चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक औषधि बिक्री वितरणमा रोक लगाउनुपर्नेमा जोड दिए । प्रतिजैविक प्रतिरोध दिनानुदिन बढिरहेको उल्लेख गर्दै उनले समयमै नियन्त्रण गर्न नसके उपचार प्रक्रिया थप जटिल, महँगो र लामो हुने बताए ।

कार्यक्रममा ट्रष्टको अनुसन्धान केन्द्रकी वरिष्ठ सूक्ष्मजीवविज्ञ डा. वसुधा श्रेष्ठले प्रतिजैविक प्रतिरोध, त्यसका परिणाम तथा नियन्त्रणका उपाय र नेपालमा यसको निगरानी तथा एन्टिबायोग्रामसम्बन्धी विषयमा छुट्टाछुट्टै प्रस्तुति दिइन् । 

स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले स्वास्थ्यकर्मीबाट सुरु गरिएको सचेतना कार्यक्रम औषधि विक्रेता र उपभोक्तासम्म विस्तार गर्ने योजना रहेको जानकारी दिए । शिक्षा तथा स्वास्थ्य समितिका सदस्य सचिव एवं शिक्षा विभागका प्रमुख नमराज ढकालले प्रतिजैविक प्रतिरोधसम्बन्धी विषयलाई विद्यालय शिक्षासँग जोडेर अघि बढाउने योजना सुनाए ।

कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख नःली बज्राचार्य र प्रतिजैविक प्रतिरोधसम्बन्धी सम्पर्क व्यक्ति ऋषिप्रसाद भुषालले महानगरपालिकाले अपनाएका सावधानी तथा नियन्त्रणका उपायबारे जानकारी दिए ।

एन्टिबायोटिक ब्याक्टेरियाका कारण हुने सङ्क्रमणको उपचारमा प्रयोग गरिने औषधि हो । भाइरसका कारण हुने सङ्क्रमणमा यसले काम गर्दैन । त्यसैले रुघाखोकी, इन्फ्लुएन्जा तथा भाइरल ज्वरोमा एन्टिबायोटिक प्रभावकारी हुँदैन ।

औषधिको जथाभावी प्रयोगले संवेदनशील ब्याक्टेरिया नष्ट भए पनि प्रतिरोधी ब्याक्टेरिया जीवित रहन र फैलिन सक्छन् । प्रतिजैविक प्रतिरोध मानिसको शरीर औषधिसँग अभ्यस्त हुने समस्या नभई सूक्ष्मजीवले औषधिविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने प्रक्रिया हो ।

प्रतिरोध बढ्दै जाँदा निमोनिया, रगत तथा मूत्रनलीको सङ्क्रमणजस्ता रोगको उपचार कठिन हुन्छ । बिरामीले महँगा औषधि प्रयोग गर्नुपर्ने, अस्पतालमा लामो समय बस्नुपर्ने र मृत्युको जोखिमसमेत बढ्न सक्छ । यसले शल्यक्रिया, अङ्ग प्रत्यारोपण तथा क्यान्सर उपचारलाई समेत सङ्क्रमणको जोखिमका कारण जटिल बनाउन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनको सन् २०२५ को प्रतिवेदनअनुसार सन् २०२३ मा परीक्षणबाट पुष्टि भएका ब्याक्टेरियाजन्य सङ्क्रमणमध्ये विश्वभर करिब छमध्ये एक सङ्क्रमण एन्टिबायोटिक प्रतिरोधी थियो ।

नेपालमा सन् २०२१ मा प्रतिजैविक प्रतिरोधसँग प्रत्यक्ष सम्बन्धित चार हजार ७०७ जनाको मृत्यु भएको अनुमान गरिएको छ । प्रतिरोधसँग सम्बन्धित अन्य कारणसमेत जोड्दा यो सङ्ख्या १९ हजार ५७९ पुगेको अनुमान छ । यी तथ्याङ्क राष्ट्रिय रूपमा गणना गरिएका वास्तविक मृत्यु नभई नमुना तथा तथ्याङ्कमा आधारित अनुमान हुन् ।

प्रतिजैविक प्रतिरोध मानिसमा मात्र सीमित छैन । पशुपन्छी पालन, कृषि, खाद्य उत्पादन तथा प्रशोधन नगरिएको फोहोरपानीबाट समेत प्रतिरोधी सूक्ष्मजीव फैलिन सक्छन् । त्यसैले मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणलाई एकीकृत रूपमा हेर्ने ‘एक स्वास्थ्य’ अवधारणाको कार्यान्वयन आवश्यक रहेको विज्ञहरूको भनाइ छ ।

नेपालले प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि जनस्वास्थ्य सेवा ऐन, २०७५, राष्ट्रिय प्रतिजैविक उपचार निर्देशिका, २०२३ र सन् २०२४ देखि २०२८ सम्मको राष्ट्रिय कार्ययोजना अघि बढाएको छ । तर यस्ता नीतिको प्रभावकारी कार्यान्वयन, औषधिको बिक्री वितरणमा नियमन, प्रयोगशाला तथा निगरानी प्रणालीको विस्तार र जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ ।

चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग नगर्ने, तोकिएको मात्रा र अवधिअनुसार सेवन गर्ने, हातको सरसफाइमा ध्यान दिने, खोप लगाउने, सुरक्षित खानेपानी प्रयोग गर्ने तथा पशुपन्छीमा औषधिको विवेकपूर्ण प्रयोग गर्ने अभ्यासले प्रतिरोध नियन्त्रणमा सहयोग पुर्याउन सक्छ ।

बढ्दो प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी, औषधि व्यवसायी, किसान र सर्वसाधारण सबैको साझा जिम्मेवारी आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।

Share News