काठमाडौं । चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक औषधि सेवन गर्ने प्रवृत्ति बढ्दै जाँदा यसको प्रभावकारिता घट्दै गएको र जनस्वास्थ्यमा जोखिम बढ्दै गएको जनस्वास्थ्यविद्हरूले बताएका छन् ।
एन्टिबायोटिकको जथाभावी प्रयोग, निर्धारित मात्रा र अवधिअनुसार औषधि सेवन नगर्ने तथा पशुपन्छी र कृषि क्षेत्रमा हुने दुरुपयोगले प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेजिस्टेन्स–एएमआर) बढाइरहेको उनीहरूको भनाइ छ ।
‘विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह’को अवसरमा काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले जनस्वास्थ्य सरोकार ट्रष्टसँगको सहकार्यमा स्वास्थ्यकर्मीका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्यविद्हरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
यस वर्ष ‘वन हेल्थ, वन एक्सन : प्रिभेन्ट एएमआर नाउ’ नारासहित सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेको छ ।
कार्यक्रममा वक्ताहरूले सामान्य संक्रमणको उपचारमा प्रयोग हुने एन्टिबायोटिकले नै काम गर्न छाड्ने अवस्था आएमा उपचार कठिन र महँगो हुने तथा बिरामीको ज्यानसमेत जोखिममा पर्ने बताएका छन् ।
सूक्ष्मजीवले औषधिको प्रभावलाई निष्प्रभावी बनाउने क्षमता विकास गर्दै जाँदा प्रतिजैविक प्रतिरोध विश्वव्यापी जनस्वास्थ्य चुनौती बनेको उनीहरूको भनाइ थियो ।
काठमाडौं महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्नु, भाइरल संक्रमणमा प्रयोग गर्नु, निर्धारित मात्रा र अवधिअनुसार औषधि नलिनु तथा बाँकी औषधि पुनः प्रयोग गर्नु प्रतिरोध बढाउने प्रमुख कारण रहेको बताए ।
उनले काठमाडौं उपत्यकाभर चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक औषधि बिक्री वितरणमा रोक लगाउन ढिलाइ गर्न नहुने बताए ।
‘प्रतिजैविक प्रतिरोध दिनानुदिन बढ्दै छ । यसलाई अहिले नै नियन्त्रण नगर्ने हो भने उपचार प्रक्रिया थप जटिल, महँगो र लामो हुनेछ,’ महर्जनले भने, ‘यसकारण यसलाई रोक्न तत्काल काम गर्नुपर्ने अवस्था छ ।’
उनले प्रतिजैविक प्रतिरोध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जनस्वास्थ्य सरोकार ट्रष्टको अनुसन्धान केन्द्रकी वरिष्ठ माइक्रोबायोलोजिस्ट डा. बसुधा श्रेष्ठले प्रतिजैविक प्रतिरोध, यसको परिणाम र नियन्त्रण तथा नेपालमा एएमआर निगरानी र एन्टिबायोग्रामसम्बन्धी प्रस्तुति दिएकी थिइन् ।
त्यस्तै, औषधि सूचना केन्द्रका इन्चार्ज त्रिलोचन पाण्डेले केन्द्रको कामबारे जानकारी गराएका थिए ।
प्रस्तुतिमा एन्टिबायोटिकको अनुचित प्रयोगले संवेदनशील ब्याक्टेरिया नष्ट भए पनि प्रतिरोधी ब्याक्टेरिया जीवित रहन र फैलिन सक्ने जोखिम औँल्याइएको थियो ।
प्रतिजैविक प्रतिरोध भनेको मानिसको शरीर औषधिसँग अभ्यस्त हुने समस्या होइन । यो सूक्ष्मजीवले औषधिविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने प्रक्रिया हो ।
प्रतिरोध बढ्दै जाँदा निमोनिया, रगत तथा मूत्रनलीको संक्रमणजस्ता रोगको उपचार कठिन हुन्छ । बिरामीले महँगा औषधि प्रयोग गर्नुपर्ने, अस्पतालमा लामो समय बस्नुपर्ने र मृत्युको जोखिमसमेत बढ्न सक्छ ।
यसले शल्यक्रिया, अंग प्रत्यारोपण र क्यान्सर उपचारजस्ता चिकित्सा प्रक्रियालाई समेत संक्रमणको जोखिमका कारण जटिल बनाउन सक्छ ।
विश्व स्वास्थ्य संगठनको सन् २०२५ को प्रतिवेदनअनुसार सन् २०२३ मा परीक्षणबाट पुष्टि भएका ब्याक्टेरियाजन्य संक्रमणमध्ये विश्वभर करिब ६ मध्ये एक संक्रमण एन्टिबायोटिक प्रतिरोधी थियो ।
नेपालमा सन् २०२१ मा प्रतिजैविक प्रतिरोधसँग प्रत्यक्ष सम्बन्धित चार हजार ७०७ जनाको मृत्यु भएको अनुमान गरिएको छ । प्रतिरोधसँग सम्बन्धित अन्य कारणसमेत जोड्दा मृत्यु हुनेको संख्या १९ हजार ५७९ पुगेको अनुमान छ ।
यी संख्या राष्ट्रिय रूपमा गणना गरिएका मृत्यु नभई मोडेलमा आधारित अनुमान हुन् ।
प्रतिजैविक प्रतिरोध मानिसमा मात्र सीमित छैन । पशुपन्छी पालन, कृषि, खाद्य उत्पादन र प्रशोधन नगरिएको फोहरपानीबाट समेत प्रतिरोधी सूक्ष्मजीव फैलिन सक्छन् ।
त्यसैले मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणलाई एकीकृत रूपमा हेर्ने ‘एक स्वास्थ्य’ अवधारणा आवश्यक रहेको जनस्वास्थ्यविद्हरूले बताएका छन् ।
नेपालले प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि जनस्वास्थ्य सेवा ऐन, २०७५, राष्ट्रिय एन्टिमाइक्रोबियल उपचार निर्देशिका, २०२३ तथा सन् २०२४–२०२८ को राष्ट्रिय कार्ययोजना अघि बढाएको छ ।
तर औषधिको प्रभावकारी नियमन, प्रयोगशाला तथा निगरानी प्रणालीको विस्तार र जनचेतना अभिवृद्धि आवश्यक रहेको कार्यक्रममा औँल्याइएको थियो ।
एन्टिबायोटिक ब्याक्टेरियाका कारण हुने संक्रमणको उपचारमा प्रयोग गरिन्छ । भाइरसका कारण हुने रुघाखोकी, इन्फ्लुएन्जा र भाइरल ज्वरोमा यसले काम गर्दैन ।
त्यसैले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन नगर्न, तोकिएको मात्रा र अवधिअनुसार औषधि लिन तथा बाँकी औषधि पुनः प्रयोग नगर्न आग्रह गरिएको छ ।
हातको सरसफाइ, खोप, सुरक्षित खानेपानी तथा पशुपन्छीमा औषधिको विवेकपूर्ण प्रयोगले पनि प्रतिरोध नियन्त्रणमा सहयोग पुग्ने जनस्वास्थ्यविद्हरूको भनाइ छ ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले महानगरपालिकाको नेतृत्वमा गरिने कामबाट छिटो नतिजा निकाल्न सकिने बताए ।
स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले स्वास्थ्यकर्मीबाट सुरु गरिएको सचेतना कार्यक्रम औषधि विक्रेता र उपभोक्तासम्म विस्तार गर्ने योजना रहेको बताए ।
त्यस्तै, शिक्षा स्वास्थ्य समितिका सदस्य सचिव एवं शिक्षा विभागका प्रमुख नमराज ढकालले प्रतिजैविक प्रतिरोधसम्बन्धी विषयलाई विद्यालय शिक्षासँग जोडेर अघि बढाउने योजना सुनाए ।