जीवाष्म इन्धनलाई लिएर कोप– ३१ मा सहमति जुटेन

काठमाडौं । टर्कीएमा जारी संयुक्त राष्ट्रसंघको कोप–३१ सम्मेलनमा नयाँ विश्वव्यापी जलवायु सम्झौताका विषयमा देशहरूबीच सहमति जुट्न सकेको छैन ।

बीबीसी न्युजका अनुसार वार्ता निर्धारित समयभन्दा एक दिन बढी लम्बिए पनि कुनै सहमति हुन सकेन । त्यसपछि वार्ता रातभरका लागि स्थगित गरिएको छ ।

युरोपेली संघ (ईयू) र प्रशान्त क्षेत्रका केही टापु राष्ट्रहरू सम्झौताको नयाँ मस्यौदाप्रति असहमत छन् । उक्त मस्यौदामा विश्वको जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने विषय समावेश गरिएको छैन ।

वार्तामा अर्को प्रमुख विवाद जलवायु परिवर्तनका असर न्यूनीकरण तथा त्यसबाट प्रभावित समुदायलाई सहयोग गर्न आवश्यक आर्थिक सहायता पनि बनेको छ ।

अफ्रिकी राष्ट्रहरूको समूहले यसका लागि थप आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाउनुपर्ने माग गरेको छ । तर युरोपेली संघले भने अफ्रिकी देशहरूको यो मागलाई समर्थन नगर्ने स्पष्ट पारिसकेको छ ।

आइतबार बिहानै स्वदेश फर्कने तयारीमा रहेका वार्तामा सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलले आफ्नो हवाई उडान सोमबारका लागि सारेका छन् । यसले सम्झौतामा सहमति जुटाउन अझै समय लाग्न सक्ने संकेत गरेको छ ।

संयुक्त राष्ट्रसंघको जलवायु वार्तामा कुनै पनि सम्झौता पारित गर्न सबै सदस्य राष्ट्रको सहमति आवश्यक हुन्छ । सबै देशबीच सहमति जुट्न नसके वार्ता नै स्थगित गर्नुपर्ने अवस्था आउन सक्छ ।

Share News