कुख्यात लागुऔषध माफियाका नाइके पक्राउ परेपछि मेक्सिकोमा हिंसा भड्कियो

काठमाडौं । मेक्सिकोमा एक शक्तिशाली लागुऔषध माफियाका नाइके पक्राउ परेपछि हिंसा भड्किएको छ । 

पक्राउ परेका व्यक्ति अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) को १० सर्वाधिक खोजी गरिएका व्यक्तिको सूचीमा समेत समावेश थिए ।

सीबीएस न्युजका अनुसार मेक्सिकोको सिनालोआ राज्यमा भएको घटनापछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ ।

मेक्सिकोको सेनाले शनिबार फाउस्तो इसिद्रो मेजा–फ्लोरेसलाई पक्राउ गरिएको जानकारी दिएको हो । उनी ‘एल चापो इसिद्रो’ नामले पनि चिनिन्छन् ।

एफबीआईका अनुसार मेजा–फ्लोरेस अन्तरदेशीय आपराधिक संगठनका कथित प्रमुख हुन् । उक्त गिरोहले अमेरिकामा हेरोइन, मेथाम्फेटामाइन, कोकिन, फेन्टानिल र गाँजाको तस्करी गर्दै आएको छ ।

एफबीआईका अनुसार मेक्सिकोभित्र पनि उक्त गिरोहको लागुऔषध उत्पादन, ओसारपसार र वितरणमा नियन्त्रण रहँदै आएको थियो ।

मेक्सिकोको राष्ट्रिय रक्षा मन्त्रालयले शुक्रबार राति सिनालोआ राज्यमा गरिएको छापामारीका क्रममा मेजा–फ्लोरेसलाई पक्राउ गरिएको जनाएको छ ।

मन्त्रालयका अनुसार सेनाको विशेष टोलीले सुरुमा उनको अवस्थिति पत्ता लगाएको थियो । त्यसपछि सैनिकहरू गोप्य रूपमा उक्त क्षेत्रमा पुगेर एउटा घरलाई घेराबन्दी गरेका थिए ।

सुरक्षा बलले गरेको कारबाहीका क्रममा गोलीबारी भएको भिडियो सार्वजनिक भएका छन् । भिडियोमा गुआसावे क्षेत्रमा हेलिकोप्टरबाट जमिनतर्फ गोली प्रहार भइरहेको देखिन्छ ।

त्यस्तै, अर्को भिडियोमा बेसबल रंगशालामा रहेका मानिसहरू गोली चलेको आवाज सुनेपछि भागदौड गरिरहेको देखिन्छ । घटनापछि सिनालोआ क्षेत्रमा सुरक्षा चुनौती बढेको छ ।

Share News