काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेको भारत भ्रमण अन्तिम समयमा रद्द भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको प्रतिनिधिमण्डलबाट उनको नाम हटाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण दलमा सहभागी गराउन नसकिएको जानकारी गराइएको छ । विशेष परिस्थितिका कारण उनका नाम हटाइएको मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले मंसिर ३ गते अध्यक्ष पाण्डेलाई पठाएको पत्रमा बिजनेस डेलिगेसनको सदस्यका रूपमा मनोनयन गरिएको भनिएको थियो।
प्रधानमन्त्रीको भारत भ्रमणमा व्यवसायीका तर्फबाट ५२ सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जाँदै छ। तर उक्त भ्रमण दलबाट अन्तिम समयमा पाण्डेलाई हटाइएको हो।
प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने व्यावसायिक प्रतिनिधिमण्डलका सबै सदस्य निजी खर्चमा भारत भ्रमणमा जाने गरेका छन्।
यसअघिका प्रधानमन्त्रीहरूको विदेश भ्रमणमा पनि व्यावसायिक क्षेत्रका व्यक्ति निजी खर्चमै सहभागी भएका थिए।