काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएपछि सेफ्टम ५०० नामक एन्टिबायोटिक औषधि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरेको औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको भन्दै उक्त औषधिको बिक्री वितरण रोक्न र बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।
विभागले २०८३ मंसिर ३ गते प्रकाशित गरेको अत्यन्त जरुरी सूचनाअनुसार आर्या फार्माल्याब प्रालि, छातापिपरा, बाराद्वारा उत्पादित सेफ्टम ५०० औषधि गुणस्तर परीक्षणमा असफल भएको हो । उक्त औषधिको उत्पादन समूह नम्बर एफसीएफटी २३०१० रहेको छ । यसको उत्पादन मिति सन् २०२६ अप्रिल र म्याद सकिने मिति सन् २०२८ मार्च रहेको छ ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त औषधिको ट्याब्लेट शरीरमा घुल्ने परीक्षणको नतिजा सन् २०२६ को अमेरिकी औषधि मापदण्डअनुसार नभएको पाइएको विभागले जनाएको छ । यो औषधि सेफुरोक्सिम एक्सेटिल ५०० मिलिग्रामको ट्याब्लेट हो । विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त उत्पादन समूहको औषधिको बिक्री वितरण रोक्न तथा बजारबाट तत्काल फिर्ता गरी सोको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग र प्रतिनिधिलाई निर्देशन दिएको छ ।
साथै, विभागले उक्त उत्पादन समूह नम्बर उल्लेख भएको औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सम्बन्धित सबैमा जानकारी गराएको छ । विभागको सूचनापछि औषधि उत्पादक, औषधि व्यवसायी तथा स्वास्थ्य संस्थाहरूले उक्त उत्पादन समूहको औषधिको बिक्री वितरण र प्रयोग रोक्नुपर्नेछ ।