निःशुल्क एम्बुलेन्स सेवामा शुल्क मागिएको भन्दै सिभिल अस्पतालका डाक्टरको गुनासो

तत्काल छानविन गरी कारवाही गर्न माग

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा कार्यरत चिकित्सक नवीन यादवले राष्ट्रिय एम्बुलेन्स सेवाअन्तर्गतको १०२ नम्बरमा सम्पर्क गर्दा निःशुल्क भनिएको एम्बुलेन्स सेवाका लागि १२ सय रुपैयाँ मागिएको भन्दै गुनासो गरेका छन् ।

चिकित्सक यादवले बुधबार राती अस्पतालको आकस्मिक कक्षमा भएको घटनालाई सामाजिक सञ्जलमार्फत सार्वजनिक गर्दै १०२ को सेवामाथि प्रश्न उठाएका हुन् । 

उनका अनुसार प्युठानबाट उपचारका लागि आएकी करिब ६५ वर्षीया महिलालाई अस्पतालमा बेड उपलब्ध नभएपछि अर्को अस्पतालमा रेफर गर्नुपर्ने अवस्था आएको थियो । 

रेफरल कागजात तयार भए पनि बिरामीसँगै आएका छोरा सम्पर्कविहीन भएपछि उनका श्रीमान् अन्यौलमा परेका थिए ।

त्यसपछि अस्पतालका स्वास्थ्यकर्मीले निःशुल्क एम्बुलेन्स सेवाका लागि १०२ नम्बरमा सम्पर्क गर्न सुझाव दिएका थिए । सुरुमा करिब ४५ मिनेटमा एम्बुलेन्स आइपुग्ने जानकारी दिइए पनि केही समयपछि केएमसी अस्पतालसम्म पुर्याउन १ हजार २०० रुपैयाँ लाग्ने भनिएको यादवले उल्लेख गरेका छन् ।

बिरामीका श्रीमानको मोबाइलको ब्याट्री सकिएपछि यादवले आफ्नै मोबाइलबाट १०२ नम्बरमा फोन गरी घटनाबारे जानकारी गराएका थिए । 

उनले निःशुल्क भनिएको सेवाका लागि पैसा किन मागिएको भन्दै प्रश्न गरेपछि उताबाट सेवा निःशुल्क भएको जानकारी दिइएको र केही समयमै एम्बुलेन्स पठाउने आश्वासन पाएको बताएका छन् ।

यादवका अनुसार त्यसको करिब पाँच मिनेटमै एम्बुलेन्स अस्पताल आइपुगेको थियो । तर, एम्बुलेन्सका कर्मचारीले अक्सिजन आवश्यक नपर्ने बिरामीका लागि किन एम्बुलेन्स बोलाएको भन्दै असहज व्यवहार गरेको उनको आरोप छ ।

उनले एम्बुलेन्स सेवा अक्सिजन आवश्यक पर्ने बिरामीका लागि मात्रै हो कि अन्य अस्पतालमा भर्ना हुनुपर्ने बिरामीलाई सुरक्षित रूपमा पुर्याउने जिम्मेवारी पनि सेवाभित्र पर्छ भन्दै कर्मचारीलाई प्रश्न गरेको बताएका छन् । 

आर्थिक रूपमा कमजोर र समस्यामा रहेका वृद्ध दम्पतीलाई सहयोग गर्नुपर्ने अवस्थामा एम्बुलेन्सका कर्मचारी र चालकको व्यवहार सहयोगी तथा संवेदनशील हुन नसकेको यादवको भनाइ छ ।

बिरामीलाई एम्बुलेन्समा राख्न सहयोग गरेपछि उनले ती महिलाका श्रीमान्लाई उक्त सेवा निःशुल्क भएकाले एक रुपैयाँ पनि नदिन आग्रह गरेका थिए । त्यसपछि राष्ट्रिय एम्बुलेन्स सेवाको सम्पर्क नम्बरमा पुनः फोन गरेर घटनाबारे गुनासोसमेत गरेको उनले बताएका छन् । 

यादवले निःशुल्क भनिएको सेवाका लागि सेवाग्राहीसँग पैसा किन मागियो, एम्बुलेन्स सेवा अक्सिजन आवश्यक पर्ने बिरामीका लागि मात्रै हो कि अन्य बिरामीलाई पनि सेवा दिनुपर्ने हो र सार्वजनिक सेवामा कार्यरत कर्मचारीले सेवाग्राहीप्रति सम्मान तथा सहानुभूति देखाउनुपर्ने होइन भन्ने प्रश्न उठाएका छन् ।

‘निःशुल्क सेवा केवल सरकारी कागजमा लेखिएको शब्दमा सीमित हुनुहुँदैन । त्यो सेवाग्राहीको व्यवहारिक अनुभूतिमा पनि देखिनुपर्छ,’ उनले लेखेका छन् । 

उनले घटनाबारे सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक अनुसन्धान गरी दोषी पाइएमा सम्बन्धित व्यक्तिमाथि अविलम्ब कारबाही गर्नसमेत माग गरेका छन् ।

Share News