चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक नखान औषधी व्यवस्था विभागको आग्रह

काठमाडौं । औषधी व्यवस्था विभागले एन्टिबायोटिक औषधीको जथाभावी प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । 

विभागले प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स–एएमआर) को बढ्दो जोखिमप्रति सचेत गराउँदै चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक प्रयोग नगर्न र निर्धारित मात्रा तथा अवधिसम्म औषधि सेवन गर्न आग्रह गरेको हो ।

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२६ को अवसरमा विभागले यस्तो आग्रह गरेको हो । 

प्रत्येक वर्ष नोभेम्बर १८ देखि २४ सम्म मनाइने यस वर्षको सप्ताहको नारा एक स्वास्थ्य एक अभियान प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम रहेको छ ।

विभागका अनुसार एन्टिबायोटिकलगायत प्रतिजैविक औषधीको अनुचित तथा अत्यधिक प्रयोग र दुरुपयोगका कारण सूक्ष्मजीवहरूमा औषधीको प्रतिरोधात्मक क्षमता तीव्र रूपमा बढ्दै गएको छ । यसले सामान्य सङ्क्रमणको उपचारसमेत जटिल बनाउँदै लगेको छ ।

प्रतिजैविक प्रतिरोधले मानव स्वास्थ्यमा मात्रै नभई पशुपन्छीको स्वास्थ्य, कृषि उत्पादन, खाद्य सुरक्षा तथा वातावरणमा समेत असर पारिरहेको विभागले जनाएको छ । 

यसको न्यूनीकरणका लागि प्रतिजैविक औषधीको समुचित प्रयोग, सङ्क्रमण रोकथाम तथा नियन्त्रण, सरसफाइ, खोपको प्रवद्र्धन र प्रभावकारी निगरानी प्रणाली आवश्यक रहेको विभागको भनाइ छ ।

विशेषगरी चिकित्सकको सिफारिसबिना र आफूखुसी बिरामीले एन्टिबायोटिक औषधी प्रयोग नगर्न, निर्धारित मात्रा र तोकिएको अवधिसम्म औषधी सेवन गर्ने व्यवहारको पालना गर्न विभागले आग्रह गरेको छ ।

विभागले प्रतिजैविक औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्न उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको नियमन गर्दै आएको जनाएको छ । 

साथै, प्रतिजैविक औषधीको खपतसम्बन्धी तथ्याङ्क सङ्कलन र अन्तर्राष्ट्रिय स्तरमा प्रतिवेदन गर्ने कार्यसमेत भइरहेको जनाएको छ । 

चिकित्सकीय सिफारिसबिना प्रतिजैविक औषधीको बिक्री वितरण नगर्न तथा आरक्षित समूहका एन्टिबायोटिक अस्पतालको फार्मेसीबाट मात्र बिक्री वितरण गर्ने व्यवस्था प्रभावकारी बनाउन विभागले सरोकारवालालाई आग्रह गरेको छ ।

विभागका महानिर्देशक भरत भट्टराईले प्रतिजैविक प्रतिरोध कुनै एक व्यक्ति वा क्षेत्रको मात्र समस्या नभई जनस्वास्थ्यको साझा चुनौती भएकाले यसको रोकथामका लागि सरकार, चिकित्सक, स्वास्थ्यकर्मी, औषधी व्यवसायी, पशु स्वास्थ्यकर्मी तथा सर्वसाधारण सबैको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । 

Share News