काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको सिटिजन्स म्युचुअल फण्ड–२ ले सात वर्षे अवधि पूरा गर्दै इकाईधनीलाई औसत वार्षिक १०.४० प्रतिशत नगद प्रतिफल प्रदान गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको उक्त बन्दमुखी सामूहिक लगानी कोष योजना २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएको थियो । ५६ करोड रुपैयाँ कोष आकार रहेको योजनाले २०८३ असार २१ गते सात वर्षे अवधि पूरा गरेको हो ।
योजनाले सञ्चालन अवधिभर इकाईधनीलाई वार्षिक रूपमा नगद लाभांश वितरण गर्दै औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल दिन सफल भएको कम्पनीले जनाएको छ । योजना परिपक्व भई खारेजीसम्बन्धी प्रक्रिया पूरा भएसँगै इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम भुक्तानीसमेत सुरु गरिएको छ ।
नेपाली धितोपत्र बजारमा विभिन्न समयमा आएका उतारचढाव, बजार मूल्यमा गिरावट तथा चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद निरन्तर प्रतिफल वितरण गर्न सफल भएको कम्पनीको भनाइ छ । यसअघि परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड–१ मार्फत पनि क्यापिटलले औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गरेको थियो ।
सिटिजन्स क्यापिटलले हाल सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना र सिटिजन्स सन्तुलित योजनालगायतका सामूहिक लगानी कोष व्यवस्थापन गर्दै आएको छ ।
यसैबीच, कम्पनीले नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त उक्त योजनाको इकाई निष्कासन मंसिर २ गतेदेखि सुरु हुने तय भएको छ ।
१० वर्षे अवधि रहेको यस योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ रहेको छ । माग तथा आवेदनको अवस्थाअनुसार योजनाको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था छ । योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् ।
सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष व्यवस्थापन क्षमताका लागि इक्रा नेपालबाट एएमसी क्वालिटी थ्री प्लस (AMC Quality 3+) रेटिङ प्राप्त गरेको पनि जनाएको छ । विगतका योजनाबाट प्राप्त अनुभव र संस्थागत क्षमताको उपयोग गर्दै नयाँ योजनाको लगानी व्यवस्थापनलाई व्यवस्थित, अनुशासित र व्यावसायिक बनाउने कम्पनीको लक्ष्य छ ।
कम्पनीका अनुसार नयाँ योजनामार्फत दीर्घकालीन लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी बजारमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने अपेक्षा गरिएको छ ।
सिटिजन्स क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन् । कम्पनीले संस्थागत सुशासन, लगानीकर्ता हित संरक्षण तथा पुँजी बजारको विकासलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गर्दै आएको जनाएको छ ।