काठमाडौं । व्यवसायी राजबहादुर शाह व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर दाखिला गर्ने करदाता बनेका छन् । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सरकारले शाहलाई व्यक्तिगततर्फ उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो ।
हरेक वर्ष मंसिर १ गते मनाइने राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्रका उच्च करदातालाई सम्मान गर्दै आएको छ । यस वर्ष ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिकको सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस मनाइएको छ ।
शाह जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक हुन् । उनी यसअघि पनि व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा सम्मानित हुँदै आएका छन् । राष्ट्रिय कर दिवस २०८२ मा पनि व्यक्तिगत आयकरतर्फ शाह नै उत्कृष्ट करदाता घोषित भएका थिए ।
आन्तरिक राजस्व विभागले करदातालाई विभिन्न विधामा वर्गीकरण गरी उत्कृष्ट करदाता सम्मान गर्दै आएको छ । संस्थागत तथा व्यक्तिगत करदाताको योगदानको कदर गर्दै कर सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले यस्तो सम्मान प्रदान गरिँदै आएको छ ।
कर दिवसको अवसरमा सरकारले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र सुशासनमैत्री बनाउँदै राजस्व परिचालनमा नागरिकको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।