काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो र पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्थाबारे ध्यान दिन आग्रह गर्दै सर्वोच्च अदालतसहित तीनवटा अदालतका प्रधानन्यायाधीशलाई पत्र लेखेका छन् ।
रावलपिन्डीस्थित अदियाला जेलमा बन्द इमरानले आफ्ना वकिलमार्फत पाकिस्तानको सर्वोच्च अदालत, संघीय संवैधानिक अदालत र इस्लामाबाद उच्च अदालतका प्रधानन्यायाधीशलाई पत्र पठाएका हुन् ।
पत्रमा उनले आफ्नो जीवन र स्वास्थ्य गम्भीर जोखिममा रहेको उल्लेख गर्दै यस विषयमा ध्यान दिन आग्रह गरेका छन् ।
यसैबीच, उनकी पत्नी बुशरा बीबीले पनि आफ्ना वकिलमार्फत इस्लामाबाद उच्च अदालतमा निवेदन दायर गर्दै आफूलाई अस्पताल भर्ना गराउन माग गरेकी छन् ।
इमरान खानलाई नोभेम्बर १० र ११ को मध्यरातमा इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पीआईएमएस) अस्पताल लगिएको थियो ।
प्रशासनका अनुसार त्यहाँ उनको स्वास्थ्य परीक्षण गरिएको थियो भने आँखाको उपचारसम्बन्धी अनुगमन पनि गरिएको थियो ।
यसअघि इमरान खानको दाहिने आँखामा सेन्ट्रल रेटिनल भेन अक्लुजन (सीआरभीओ) अर्थात् आँखाको रेटिनामा रगत पुर्याउने नसामा अवरोध हुने समस्या देखिएको थियो ।
यता, पाकिस्तान सरकारले भने पूर्वप्रधानमन्त्रीलाई जेलभित्रै उत्कृष्ट स्वास्थ्य उपचार सुविधा उपलब्ध गराइएको दाबी गर्दै आएको छ ।
सरकारले उनको उपचारमा कुनै कमी नगरिएको र आवश्यक उपचार समयमै उपलब्ध गराइएको बताउँदै आएको छ ।