जय शाह दोस्रो कार्यकालका लागि आईसीसी अध्यक्षमा निर्विरोध निर्वाचित

फाइल तस्बिर ।

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतका जय शाहलाई  दोस्रो कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको छ । उनी उक्त पदमा निर्विरोध निर्वाचित भएका हुन् । उनी भारतीय गृहमन्त्री अमित शाहका छोरा हुन् । 

आईसीसीका अनुसार इन्डोनेसियाको बालीमा आयोजित बोर्ड तथा समितिका बैठकमा आईसीसीका निर्देशकहरूले जय शाहलाई दोस्रो कार्यकालका लागि अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।

आईसीसी बोर्डले यो निर्णयले जय शाहको नेतृत्वप्रति आफ्नो विश्वासलाई प्रतिबिम्बित गरेको जनाएको छ । साथै यसले क्रिकेटको भविष्यका योजना अघि बढाउन निरन्तरता कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

जय शाहले आफूलाई दोस्रो कार्यकालका लागि विश्वास गरेकोमा आईसीसी बोर्डप्रति आभार व्यक्त गरेका छन् ।

‘आईसीसी बोर्डले ममाथि देखाएको विश्वासबाट म सम्मानित महसुस गरेको छु । निरन्तर विश्वास र समर्थनका लागि सबै निर्देशकप्रति आभारी छु,’ उनले भने ।

उनले आईसीसी अध्यक्षका रूपमा काम गर्नु आफ्ना लागि सम्मानको विषयसँगै ठूलो जिम्मेवारी पनि भएको बताए ।

३८ वर्षीय जय शाह यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव थिए । उनले सन् २०२४ डिसेम्बरमा आईसीसी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

Share News