काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको विभिन्न कारबाहीमा कम्तीमा ४३ जना लडाकु मारिएको पाकिस्तानी सेनाले जनाएको छ । सेनाकाअनुसार पछिल्लो ४८ घण्टामा मिर अली र ओरकजाई जिल्लामा गुप्तचर सूचनाका आधारमा विशेष सुरक्षा कारबाही सञ्चालन गरिएको थियो ।
पाकिस्तानी सेनाको सञ्चार विभाग इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले शुक्रवार जारी गरेको विज्ञप्तिअनुसार मिर अलीमा प्रतिबन्धित संगठन तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) का ३५ जना लडाकु मारिएका छन् ।
यस्तै, ओरकजाईमा भएको भीषण गोली हानाहानमा थप आठ जना मारिएको सेनाको दाबी छ । कारबाहीपछि गरिएको खोजीका क्रममा ठूलो परिमाणमा हतियार, गोलीगट्ठा तथा विस्फोटक पदार्थ बरामद गरिएको पनि सेनाले जनाएको छ ।
बरामद सामग्रीमा घरमै तयार पारिएका विस्फोटक पदार्थ र विस्फोटक उपकरणसमेत रहेका छन् । क्षेत्रमा बाँकी रहेका लडाकुलाई नियन्त्रणमा लिन तथा उनीहरूको गतिविधि अन्त्य गर्न थप खोजी तथा सुरक्षा कारबाही जारी रहेको सेनाले जनाएको छ ।