काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ४ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई दुई वर्षका लागि कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कार्यालयले उनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कार्यालयका अनुसार बागमती गाउँपालिका, मकवानपुरको सिफारिसमा काभ्रेपलाञ्चोकको रोशी–६ स्थित नवीनकुमार लामाको नेसनल कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिएको छ ।
त्यस्तै, सडक डिभिजन जनकपुर, मुजेलिया धनुषाको सिफारिसमा दीपेन्द्र झा मुख्य व्यक्ति रहेको बाम्ती भण्डार र नरसिंह संयुक्त उपक्रमलाई कालोसूचीमा राखिएको छ । उक्त ज्वाइन्ट भेन्चरमा काठमाडौं महानगरपालिका–३२, अनामनगरस्थित बाम्ती भण्डार प्रालि र महोत्तरीको जलेश्वर–७ स्थित नरसिंह कन्स्ट्रक्सन आबद्ध छन् ।
यसैगरी, पूर्वाधार विकास कार्यालय डडेल्धुराको सिफारिसमा दीपकबहादुर सिंह र दिलराज जोशी मुख्य व्यक्ति रहेको नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिलाई पनि कालोसूचीमा राखिएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्णयअनुसार कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले दुई वर्षसम्म कुनै पनि सार्वजनिक निकायबाट हुने निर्माण, आपूर्ति तथा सेवासम्बन्धी खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।