एजेन्सी । विश्वका तीन शक्तिशाली राष्ट्रका प्रमुख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी नोभेम्बर १९ मा चीनको सेन्जेनमा त्रिपक्षीय वार्ता हुने भएको छ । तीन आणविक शक्तिसम्पन्न राष्ट्रका प्रमुख एकै ठाउँमा बसेर वार्ता गर्न लागेकाले यसलाई विश्व कूटनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।
अमेरिकी ह्वाइटहाउसले शुक्रबार तीन नेताबीच एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा भेटवार्ता हुने उल्लेख गरेको छ । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार तीन नेताबीच नोभेम्बर १९ मा भेट गर्ने सहमति भएको विदेशी सञ्चार माध्यमले उल्लेख गरेक छन् ।
उनका अनुसार चीनको दक्षिणी सहर सेन्जेनमा हुने एपेक सम्मेलनकै क्रममा तीन राष्ट्रप्रमुखबीच संयुक्त बैठक हुनेछ । यो अमेरिका, चीन र रुसका राष्ट्रप्रमुखबीच हुन लागेको पहिलो औपचारिक त्रिपक्षीय बैठक हुनेछ ।
अमेरिकी ह्वाइटहाउसका अनुसार ट्रम्पले चिनियाँ राष्ट्रपति सीसँग छुट्टै द्विपक्षीय भेटवार्ता र कार्यभोज गरेपछि पुटिनसहितको त्रिपक्षीय बैठकमा सहभागी हुनेछन् ।
आणविक हतियार नियन्त्रण र इरान युद्ध मुख्य एजेन्डा
तीन नेताबीचको वार्तामा आणविक हतियार नियन्त्रण, विश्व सुरक्षा र मध्यपूर्वमा जारी युद्ध प्रमुख विषय बन्ने अपेक्षा गरिएको छ ।
ट्रम्पले यसअघि नै चीन र रुससँग आणविक हतियारको संख्या तथा विस्तार नियन्त्रण गर्ने विषयमा छलफल गर्न चाहेको बताएका थिए । अमेरिका र रुससँग विश्वका सबैभन्दा ठूला आणविक हतियार भण्डार छन् । चीनको आणविक क्षमता तुलनात्मक रूपमा सानो भए पनि पछिल्लो समय तीव्र रूपमा विस्तार भइरहेको अमेरिकी अधिकारीहरूको दाबी छ ।
अमेरिकी प्रशासनका अनुसार ट्रम्पले इरानसँग जारी युद्ध अन्त्य गर्ने विषयमा पनि पुटिन र सीसँग छलफल गर्नेछन् । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र त्यसले विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय सुरक्षामा पारेको प्रभाव पनि वार्ताको महत्त्वपूर्ण विषय बन्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
युक्रेन युद्धबारे मतभेद
त्रिपक्षीय वार्ताको अर्को संवेदनशील विषय रुस–युक्रेन युद्ध हुन सक्ने अनुमान गरिएको छ । रुसी राष्ट्रपति पुटिनले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न चाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
तर, चीनले युक्रेन युद्धलाई त्रिपक्षीय बैठकको औपचारिक एजेन्डा बनाउन अनिच्छा देखाएको रोयटर्सले स्रोतहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ । अमेरिकी अधिकारीले पनि ट्रम्पले तीन नेताको संयुक्त बैठकमा युक्रेन युद्धको विषय उठाउने सम्भावना नरहेको बताएका छन् ।
युक्रेनलाई सहभागी नगराई उसको भविष्यबारे विश्वका तीन शक्तिशाली राष्ट्रले कुनै सहमति गर्न सक्ने आशंकाले युक्रेनी नेतृत्व चिन्तित देखिएको छ । युक्रेन र युरोपेली देशहरूले आफ्नो भविष्यसँग जोडिएका विषयमा आफूहरूको सहभागिताबिनै ठूला शक्तिबीच सहमति हुन सक्ने सम्भावनालाई सहज रूपमा लिएका छैनन् ।
नयाँ ‘याल्टा सम्मेलन’को चर्चा
तीन नेताको सम्भावित भेटलाई लिएर अन्तर्राष्ट्रिय वृत्तमा सन् १९४५ को याल्टा सम्मेलनसँग तुलना हुन थालेको छ । दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिका, बेलायत र तत्कालीन सोभियत संघका नेताहरूबीच भएको याल्टा सम्मेलनले युद्धपछिको विश्व व्यवस्थालाई आकार दिएको थियो । त्यसबेला शक्तिशाली राष्ट्रहरूले विश्वका विभिन्न क्षेत्रमा आफ्नो प्रभाव र भूमिका निर्धारण गरेका थिए ।
अहिले पनि अमेरिका, चीन र रुसका नेताबीच हुने बैठकले विश्व शक्ति सन्तुलन, युद्ध र क्षेत्रीय प्रभावका विषयमा नयाँ समझदारी बनाउन सक्ने अनुमान गरिएको छ । विशेषगरी युक्रेन, ताइवान र अन्य साना राष्ट्रको भविष्यबारे उनीहरूको सहभागिताबिनै निर्णय हुन सक्ने आशंकाले चिन्ता बढाएको छ ।
तर, क्रेमलिनका प्रवक्ता पेस्कोभले नयाँ याल्टा सम्मेलनको संज्ञा दिनु उचित नहुने बताएका छन् । उनका अनुसार कुनै पनि देशले अरूमाथि आफ्नो विश्व व्यवस्थाको दृष्टिकोण थोपर्न नहुने र अन्तर्राष्ट्रिय सम्बन्ध आपसी सम्मान तथा हितमा आधारित हुनुपर्नेछ ।
तीन नेताका आ-आफ्नै रणनीतिक स्वार्थ
अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार तीन नेताले यो बैठकलाई आ–आफ्ना राष्ट्रिय तथा रणनीतिक स्वार्थ पूरा गर्ने अवसरका रूपमा हेरेका छन् । ट्रम्पका लागि चीन र रुससँग आणविक हतियार नियन्त्रणबारे छलफल गर्नु र इरान युद्ध अन्त्य गर्ने कूटनीतिक पहल गर्नु आफ्नो अन्तर्राष्ट्रिय नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर हुन सक्छ । अमेरिकामा घरेलु राजनीतिक दबाब र पछिल्लो चुनावी परिणामले पनि ट्रम्पलाई अन्तर्राष्ट्रिय कूटनीतिमा उपलब्धि हासिल गर्न प्रेरित गरेको विश्लेषण गरिएको छ ।
पुटिनका लागि अमेरिकी र चिनियाँ राष्ट्रपतिसँग एउटै मञ्चमा सहभागी हुनु रुसलाई विश्व शक्तिका रूपमा पुनः स्थापित गर्ने अवसर हुन सक्छ । युक्रेन युद्धका कारण पश्चिमी देशको प्रतिबन्ध र कूटनीतिक दबाब सामना गरिरहेको रुसले यस्तो भेटलाई आफ्नो अन्तर्राष्ट्रिय प्रभाव देखाउने अवसरका रूपमा उपयोग गर्न सक्छ ।
त्यस्तै, सी चिनफिङका लागि चीनको बढ्दो विश्व प्रभाव प्रदर्शन गर्ने अवसर भए पनि यो बैठक सहज नहुन सक्ने विश्लेषण गरिएको छ । चीनले अमेरिका र रुससँग आणविक हतियार नियन्त्रणको समान तहमा वार्ता गर्नुपर्ने अमेरिकी प्रस्तावप्रति खासै उत्साह देखाएको छैन । अमेरिका र रुसको तुलनामा चीनसँग आणविक हतियारको संख्या निकै कम भएकाले बेइजिङले यस्तो वार्तामा सहभागी हुँदा रणनीतिक असमानता सिर्जना हुने ठान्न सक्छ ।
रोयटर्सका अनुसार तीन देशबीच बैठकको मिति तय भए पनि वार्ताको विस्तृत एजेन्डा र स्वरूपबारे अन्तिम सहमति भइसकेको छैन ।
विश्व शक्ति सन्तुलनमा कस्तो प्रभाव पर्ला ?
विश्व अर्थतन्त्र, सुरक्षा र भू–राजनीतिमा प्रभाव राख्ने तीन राष्ट्रका प्रमुख एकै ठाउँमा भेला हुनुलाई सामान्य कूटनीतिक भेटका रूपमा मात्र हेरिएको छैन । अमेरिका, चीन र रुसबीचको सम्बन्धमा सहकार्य र प्रतिस्पर्धा दुवै रहेको अवस्थामा यो बैठकले आगामी विश्व व्यवस्थाको दिशा बुझ्न महत्त्वपूर्ण संकेत दिन सक्छ ।
विशेषगरी आणविक हतियार नियन्त्रण, इरान युद्ध, रुस–युक्रेन द्वन्द्व र विश्व व्यापारमा देखिएको तनावले अन्तर्राष्ट्रिय राजनीतिलाई प्रभावित गरिरहेको छ । यी विषयमा तीन नेताबीच कस्तो समझदारी बन्छ भन्ने कुराले विश्व बजार, ऊर्जा आपूर्ति, सुरक्षा रणनीति र साना राष्ट्रहरूको कूटनीतिक विकल्पमा समेत प्रभाव पार्न सक्छ ।
यद्यपि, बैठकबाट तत्काल कुनै ठूलो सम्झौता हुने सम्भावना कम रहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको आकलन छ । पहिलो त्रिपक्षीय संवाद भएकाले तीन नेताले एकअर्काका प्राथमिकता र रणनीतिक सीमाबारे बुझ्ने अवसरका रूपमा यसलाई उपयोग गर्न सक्नेछन् ।