काठमाडौं । इरानको नौसेनाले होर्मुज जलडमरूमध्यमा अर्को एउटा तेल ट्यांकर समुद्री बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको दाबी गरेको छ ।
बीबीसी उर्दूका अनुसार इरानी नौसेनाले सोमबार जारी गरेको विज्ञप्तिमा होर्मुज जलडमरूमध्यको पूर्वी क्षेत्रमा पर्ने एक सीमित समुद्री क्षेत्रमा बिहान उक्त घटना भएको उल्लेख गरेको छ ।
इरानी नौसेनाले घटनामा परेको जहाजलाई ‘नियम उल्लंघन गर्ने जहाज’ भन्दै त्यसले समुद्री आवागमनसम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाएको छ ।
इरानले होर्मुज जलडमरूमध्यको पूर्वी क्षेत्रमा जहाजहरूको आवागमनमाथि निरन्तर निगरानी राखिरहेको र उक्त क्षेत्रमा आफ्नो नियन्त्रण कायम रहेको दाबीसमेत गरेको छ ।
यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले पनि होर्मुज जलडमरूमध्यमा दुईवटा तेल ट्यांकर समुद्री बारुदी सुरुङमा ठोक्किएर आगलागी भएको दाबी गरेको थियो ।
आईआरजीसीका अनुसार ती जहाजहरूले इरानले तोकेको मार्गको सट्टा दक्षिणी क्षेत्रमा रहेको अनधिकृत समुद्री मार्ग प्रयोग गर्ने प्रयास गरेका थिए ।
उनीहरूले आफ्नो राडार तथा जहाजको अवस्थिति पहिचान गर्ने प्रणालीसमेत बन्द गरेको इरानको आरोप छ ।
आईआरजीसीले तीमध्ये एउटा जहाजमा २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल रहेको र उक्त जहाज फारसको खाडीको दक्षिणी क्षेत्रमा डुबेको दाबी गरेको छ ।
यद्यपि, इरानले घटनामा परेका जहाजको नाम, झण्डा तथा चालक दलका सदस्यको अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।
आईआरजीसीले आइतबारदेखि सोमबारसम्म होर्मुज क्षेत्रमा कम्तीमा छवटा तेल ट्यांकरमा आगलागी भएको दाबी गरेको छ । तर, इरानी नौसेना र आईआरजीसीले सार्वजनिक गरेका घटनाको विवरणमा केही अस्पष्टता रहेकाले सबै घटनाको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
समाचार संस्था रोयटर्सले पनि इरानका पछिल्ला दाबीहरू स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ ।
यसैबीच, बेलायतको समुद्री व्यापार सञ्चालनसम्बन्धी निकाय (यूकेएमटीओ) ले पनि होर्मुज जलडमरूमध्यबाट बाहिरिँदै गरेको एउटा तेल ट्यांकर अज्ञात वस्तुको प्रहारबाट क्षतिग्रस्त भएको र त्यसको इन्जिन कक्षमा आगलागी भएको जानकारी दिएको छ ।
उक्त घटनामा चालक दलका सबै सदस्य सुरक्षित रहेको र मानवीय क्षति नभएको प्रारम्भिक विवरण छ । यद्यपि, जहाजमा भएको क्षतिको विस्तृत विवरण अझै खुल्न सकेको छैन ।
किन महत्त्वपूर्ण छ हर्मुज जलडमरूमध्य ?
हर्मुज जलडमरूमध्य विश्वकै महत्त्वपूर्ण समुद्री ऊर्जा व्यापार मार्गमध्ये एक हो । यसले फारसको खाडीलाई ओमानको खाडी हुँदै अरब सागरसँग जोड्छ ।
विश्वभर खपत हुने कुल तेलको झन्डै पाँच भागको एक भाग यही समुद्री मार्ग हुँदै ओसारपसार हुने गर्छ । साथै, तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को अन्तर्राष्ट्रिय व्यापारका लागि पनि यो महत्त्वपूर्ण मार्ग हो ।
इरान र अमेरिकाबीचको सैन्य तनाव तथा समुद्री आवागमनमाथिको प्रतिबन्धका कारण पछिल्लो समय यस क्षेत्रमा जहाजको आवागमन प्रभावित हुँदै आएको छ । इरानले आफ्नो अनुमति र तोकेको मार्गबाहेक अन्य मार्ग प्रयोग गर्ने जहाजलाई रोक्ने चेतावनी दिँदै आएको छ ।
अर्कोतर्फ अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाएको छ । यसले विश्व ऊर्जा बजार र अन्तर्राष्ट्रिय तेल आपूर्तिमा थप अनिश्चितता सिर्जना गरेको छ ।