बल्खु-दक्षिणकाली-हेटौंडा रुटको समयसीमाप्रति यातायात महासंघको असन्तुष्टि

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु-दक्षिणकाली हुँदै हेटौँडा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि नयाँ समयतालिका निर्धारण गरेपछि यातायात व्यवसायीले असन्तुष्टि जनाएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले प्रशासनले निर्धारण गरेको समयसीमाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निर्णय पुनरावलोकन गर्न माग गरेका छन् ।

जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको सूचनामा काठमाडौंको बल्खुबाट दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक सार्वजनिक सवारी साधन बिहान ५ बजेपछि मात्रै सञ्चालन गर्न पाइने उल्लेख छ ।

त्यस्तै, काठमाडौं-हेटौंडा रुटमा चल्ने सवारी साधन बेलुका ८ बजेसम्ममा प्रहरी चेकपोस्ट फर्पिङ पुगिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रशासनले उक्त रुटमा सञ्चालन हुने सवारी साधनको यान्त्रिक अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्नुपर्ने र काठमाडौं जिल्लाभित्र पर्ने प्रहरी तथा ट्राफिक प्रहरी युनिटबाट अनिवार्य रूपमा कडाइका साथ चेकजाँच गरिने जनाएको छ ।

पछिल्लो समय उक्त सडक खण्डमा सवारी दुर्घटना र मानवीय क्षति बढ्दै गएपछि यात्रु सुरक्षालाई ध्यानमा राखेर नयाँ समयतालिका लागू गरिएको प्रशासनको भनाइ छ । 

साँघुरो, भिरालो र घुम्ती धेरै भएको सडकमा सवारी साधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरबाही, तीव्र गति तथा रातिको समयमा हुने जोखिमलाई प्रशासनले निर्णयको आधार बनाएको छ ।

त्यस्तै, तीव्र प्रतिस्पर्धाका कारण चालकले एकै दिनमा पटक-पटक ट्रिप गर्नुपर्ने अवस्था, त्यसबाट उत्पन्न हुने तनाव र अनिद्रा तथा मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने गरेको गुनासोलाई समेत प्रशासनले ध्यान दिएको छ ।

तर, महासंघका अध्यक्ष सिटौलाले भने पर्याप्त व्यावहारिक तथा वैज्ञानिक अध्ययनबिना समयसीमा निर्धारण गर्दा यातायात क्षेत्र र यात्रु दुवैले थप समस्या भोग्नुपर्ने बताएका छन् । प्रशासनको निर्णयले सवारी सञ्चालनलाई व्यवस्थित गर्नुको सट्टा झन् विकराल अवस्था सिर्जना गर्न सक्ने उनको तर्क छ ।

विशेषगरी तोकिएको समयसीमाका कारण सवारी साधनले रातिको सुनसान तथा जोखिमपूर्ण समयमा यात्रा गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै उनले यात्रुको सुरक्षा र दुर्घटनाको जोखिमबारे चिन्ता व्यक्त गरेका छन् ।

सिटौलाले सम्बन्धित सरकारी निकाय, यातायात व्यवसायी, सुरक्षा निकाय तथा प्राविधिक पक्षसँग आवश्यक छलफल र समन्वय गरेर मात्रै समयतालिका निर्धारण गर्नुपर्ने बताएका छन् । 

सडकको अवस्था, यात्रुको सुरक्षा र यातायात सञ्चालनको व्यावहारिकतालाई समेत ध्यानमा राख्दै प्रशासनको निर्णय वैज्ञानिक र व्यावहारिक ढंगले पुनरावलोकन तथा परिमार्जन गर्न उनले आग्रह गरेका छन् ।

सार्वजनिक यातायातको सहज सञ्चालन, जनताको सुविधा र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर उक्त निर्णयमाथि पुनर्विचार गर्नुपर्ने महासंघ अध्यक्ष सिटौलाको माग छ ।

Share News