गोरखाको धार्चेमा सुक्खा पहिरो

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका-१ स्थित ठाडो भ¥याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो खसेको छ । आज बिहान करिब ९ बजे एक्कासि खसेको पहिरोका कारण त्यस क्षेत्रबाट धुलोको मुस्लो फैलिएको छ ।

पहिरो खसेर केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने जोखिम नरहेको जिल्ला प्रशासन कार्यालय गोरखाका सूचना अधिकारी नेत्र प्रसाद शर्माले बताए । 

उनकाअनुसार पहिरो खसेको स्थान फराकिलो पाखो क्षेत्रमा रहेकाले तत्काल कुनै जोखिम छैन । पहिरोका कारण बूढीगण्डकी नदी थुनिने अवस्था नरहेको उनले स्पष्ट पारे ।

‘बूढीगण्डकीमा केही छिटपुट मात्रै आइपुगेको छ । नदी थुनिने अवस्था अहिले छैन । पछि आयो भने बेग्लै कुरा हो । पहिरो खसेको ठाउँ फराकिलो र पाखा भएकाले त्यस्तो खतरा छैन,’ उनले भने ।

पहिरोबाट हालसम्म कुनै मानवीय क्षति भएको छैन । पहिरो खसेको जानकारी पाएपछि घटनास्थलको अवस्था बुझ्न प्रहरी टोली परिचालन गरिएको छ ।

Share News