काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको जिम्मेवार अर्धशतक र बलरहरूको कसिलो प्रदर्शनको मद्दतमा सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन)३ को प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
लगातार तेस्रो सिजन प्लेअफमा पुगेको सुदूरपश्चिमले यसअघि अघिल्ला दुई संस्करणमा फाइनलसम्मको यात्रा तय गरे पनि उपाधि जित्न सकेको थिएन । यसपटक पनि टोलीले लिग चरणमा बलियो प्रदर्शन गर्दै उपाधि यात्रालाई निरन्तरता दिएको छ ।
सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा काठमाडौंलाई जितका लागि अन्तिम ६ बलमा १६ रन आवश्यक थियो । तर, हेमन्त धामीले दबाबपूर्ण अवस्थामा उत्कृष्ट बलिङ गर्दै सुदूरपश्चिमको जित सुनिश्चित गरे ।
अन्तिम ओभरमा जाहान्दाद खान र राशिद खान क्रिजमा थिए । धामीले पहिलो बल नो बल फाले पनि त्यसपछि ब्याटरलाई ठूलो सट खेल्ने अवसर दिएनन् । ओभरको पाँचौँ बल वाइड भए पनि उनले चौका र छक्का रोक्न सफल भए । अन्तिम ओभरमा काठमाडौंले आवश्यक रन जोड्न नसक्दा सुदूरपश्चिमले रोमाञ्चक जित निकाल्यो ।
काठमाडौंका लागि राशिद खानले अविजित ३५ रन बनाए । उनले ३१ बलमा पाँच चौका प्रहार गरे । दुशन हेमन्थाले २१ रनको योगदान दिए । एक समय ४८ रनमै पाँच विकेट गुमाएर संकटमा परेको काठमाडौंलाई राशिद र हेमन्थाले छैटौँ विकेटका लागि ३४ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए ।
त्यसपछि राशिद र कप्तान करण केसीले सातौं विकेटका लागि २२ रन जोडे । तर करण ८ रनमा आउट भएपछि काठमाडौं थप दबाबमा परेको थियो । राशिदले अन्तिमसम्म क्रिजमा रहेर संघर्ष गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।
काठमाडौंको सुरुवात पनि कमजोर रह्यो । टोलीले १२ रन जोड्दा दुई विकेट गुमाइसकेको थियो । भीम सार्की खाता नखोल्दै आउट भए भने साम हेजलेटले ११ रन बनाएर रनआउट भए । सन्तोष यादवले १० र मोहम्मद आदिल आलमले ८ रन बनाए । साहान आराचिगेले पनि खाता खोल्न सकेनन् ।
सुदूरपश्चिमका अनिल खरेलले १८ रन खर्चेर दुई विकेट लिए । स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलेनले समान एक विकेट हात पारे ।

८ रनमै चार विकेट गुमाएको सुदूरपश्चिमको पुनरागमन
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । टोलीको सुरुवात निकै खराब रह्यो । केवल ८ रन जोड्दा चार महत्वपूर्ण ब्याटर पेभेलियन फर्किएका थिए ।
स्कट कुगेलेइन ६, विनोद भण्डारी १, ब्रेन्डन म्याकमुलन र इशान पाण्डे शून्यमा आउट भएपछि सुदूरपश्चिम ठूलो दबाबमा परेको थियो । तर, कप्तान दीपेन्द्रले एक छेउ सम्हाल्दै टोलीको इनिङ्सलाई पुनर्जीवन दिए ।
दीपेन्द्रले आरिफ शेखसँग पाँचौँ विकेटका लागि ५४ रनको महत्वपूर्ण साझेदारी गरे । आरिफले २५ बलमा एक चौकासहित १६ रन बनाए । उनी रनआउट भएपछि पनि दीपेन्द्रले आफ्नो लय कायम राखे ।
त्यसपछि उनले थारिन्दु रत्नायकेसँग छैटौं विकेटका लागि थप ५४ रनको साझेदारी गरे । यी दुई साझेदारीले सुदूरपश्चिमलाई कमजोर सुरुवातबाट उकास्दै सम्मानजनक योगफलसम्म पु¥याएको थियो ।
दीपेन्द्रले ५५ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ६० रन बनाए । उनी इनिङ्सको अन्तिम ओभरको अन्तिम बलमा आउट भएका थिए । जारी प्रतियोगितामा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो । एनपीएलमा दाेस्राे अर्धसतक प्रहार गर्ने उनी तेस्राे खेलाडी भएका छन् । यसअघि विराटनगरका लाेकेश बम, काठमाण्डूका रसिद खानले दुई अर्धसतक प्रहार गरिसकेका छन् ।
थारिन्दु रत्नायकेले २३ बलमा तीन चौकासहित अविजित २६ रन बनाए ।
काठमाडौंका बलर जाहान्दाद खानले प्रभावशाली प्रदर्शन गर्दै चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए । सन्तोष यादवले १६ रन दिएर दुई विकेट हात पारे ।

१० अंकसहित शीर्ष स्थानमा सुदूरपश्चिम
यस जितसँगै लिग चरणका सातवटै खेल पूरा गरेको सुदूरपश्चिमले १० अंक जोडेको छ । टोली हाल अंकतालिकाको शीर्ष स्थानमा छ । यसअघि लुम्बिनी लायन्सले पनि प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।
लगातार चार खेल जित्दै अघि बढेको काठमाडौंले भने पहिलो हार बेहोरेको छ । ६ खेलबाट ८ अंक जोडेको काठमाडौं तेस्रो स्थानमा छ । टोलीले लिग चरणको अन्तिम खेलमा आइतबार पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौंका लागि उक्त खेल शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने अवसर कायम राख्न महत्वपूर्ण हुनेछ । सुदूरपश्चिम भने लिग चरणको यात्रा पूरा गर्दै प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ ।
यसअघि लगातार दुई संस्करणको फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित भएको सुदूरपश्चिमले यसपटक पनि उपाधि दाबेदारी प्रस्तुत गरेको छ । कमजोर सुरुवातका बाबजुद कप्तान दीपेन्द्रको ब्याटिङ र अन्तिम ओभरमा हेमन्त धामीको संयमित बलिङले टोलीलाई महत्वपूर्ण जित दिलाएको छ ।