काठमाडौं । भारतीय भल्गर सोनु मालीले हराएको मोटरसाइकल फिर्ता पाएका छन् । उनी केही दिनअघि भारतबाट घुम्न काठमाडौं आउँदा पार्किङ गरेको ठाउँबाट मोटरसाइकल हराएको थियो ।
काठमाडौं अर्थात गौशाला क्षेत्रमा होटलबाट पार्किङ गरेर राखेको ठाउँबाट मोटरसाइकल हराएको थियो । मालीले मोटरसाइकल हराएपछि प्रहरी वृत्त गौशालामा निवेदन दिएका थिए ।
उनले मोटरसाइकल हराएपछि एक भिडियोमा मोटरसाइकल हराएको र भारतबाट मोटरसाइकलमै नेपाल आएको बताएका छन् ।
उनले भिडियोमा भनेका छन्,' मैले धेरै मन्दिरको भ्रमण र दर्शन गरेको छु । मन्दिरमा गएर केही मागेको छैन । पहिलोपटक पुशपति मन्दिरमा म हराएको मोटरसाइकल फेला परोस भनेर प्राथना गरिरहेको छु । भोलेबाबालाई थाहा होला मेरो मोटरसाइकल कसले चोरेको छ । मलाई केही थाहा छैन ।'
मालीले चार दिन अगाडि हराएको मोटरसाइकल फेला परेकाले गौशाला प्रहरीलाई धन्यवादसमेत दिएका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले मालीको मोटरसाइकल कुलेश्वर क्षेत्रबाट फेला परेको जानकारी दिए । कालीमाटी क्षेत्रबाट उनको मोटरसाइकल बाटामा बेवारिशे अवस्थामा प्रहरीले फेला पारेको हो ।
'विभिन्न ठाउँको सीसीटीभी फुटेज हेर्दै गएपछि कुलेश्वर क्षेत्रबाट मोटरसाइकल फेला परेको हो,’ उनले भने,’ दुई दिनअघि मोटरसाइकल फेला पारेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरि सकिएको छ ।'
रातोपुलको एक होटलमा पार्किङ गरिरहेको अवस्थामा उनको मोटरसाइकल हराएको उनले जानकारी दिए । मोटरसाइकल सम्बन्धित व्यक्तिलाई दिए पनि चोरी गर्ने व्यक्तिहरूको खोजी भइरहेको उनले बताए ।
'सीसीटीभी हेरेर मोटरसाइकल चोरी गर्ने गिरोहको खोजी भइरहेको छ । यसमा संलग्नहरूको अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ,' उनले विकासन्युजसँग भने ।