काठमाडौं । सरकारले चाडपर्वको बिदा दिइरहेका बेला भन्सार विभागले भने ठूलो संख्यामा कर्मचारीको कार्यस्थल परिवर्तन गरेको छ । विभागले देशभरका विभिन्न भन्सार कार्यालयमा कार्यरत २७२ जना कर्मचारीको सरुवा गरेको हो ।
विभागले सार्वजनिक गरेको सरुवा विवरणअनुसार ६९ जना शाखा अधिकृत र २०३ जना नायब सुब्बा (नासु) को कार्यस्थल परिवर्तन गरिएको छ । सरुवामा पर्ने कर्मचारीमध्ये नासुको हिस्सा करिब ७५ प्रतिशत छ भने शाखा अधिकृतको हिस्सा २५ प्रतिशत छ ।
एकैपटक यति ठूलो संख्यामा कर्मचारी सरुवा भएपछि देशभरका भन्सार कार्यालयको जनशक्ति व्यवस्थापनमा फेरबदल हुने भएको छ । विशेषगरी नासु तहका कर्मचारीको ठूलो संख्यामा सरुवा हुँदा भन्सार कार्यालयको दैनिक प्रशासनिक कामकाजमा समेत प्रभाव पर्न सक्ने देखिन्छ ।
भन्सार विभागअन्तर्गतका कार्यालयहरूमा कर्मचारीको सरुवा नियमित प्रशासनिक प्रक्रिया भए पनि तिहारको सार्वजनिक बिदाकै बीच सूची सार्वजनिक गरिनुले निर्णयको समयलाई चासोका साथ हेरिएको छ ।
२७२ कर्मचारीको कार्यस्थल परिवर्तन गर्ने विभागको निर्णयले भन्सार प्रशासनमा नयाँ जनशक्ति व्यवस्थापनको अवस्था सिर्जना गरेको छ ।
