काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सशस्त्र प्रहरीका अनुसार बिहीबार बिहान करिब ६ बजेर १० मिनेटमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो ।
माइक्रोबसमा १५ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । दुर्घटनामा १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै घटनास्थलमा उद्धार कार्य सुरु गरिएको छ । सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा उद्धार टोली परिचालन गरिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थलमा उद्धार कार्य जारी राखेको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । मृतक तथा घाइतेको पहिचान र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।