काठमाडौं । हाल नेपालमा माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । यसको प्रभावले देशका विभिन्न स्थानमा आंशिक बदलीसँगै हल्का वर्षा भइरहेको छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति पनि देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।