प्रधानमन्त्री बालेनले दिए भाइटिकाको शुभकामना

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

यमपञ्चकको अन्तिम दिन भाइटीकाका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी सबैमा सुख, शान्ति र समृद्धिको कामना गरेका हुन् ।

उनले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले भाइटीकासँग जोडिएको पौराणिक मान्यताको पनि स्मरण गरेका छन् । कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेको र यमुनाले विधिपूर्वक टीका तथा पूजा गरी आतिथ्य गरेको प्रसङ्ग उनले उल्लेख गरेका छन् ।

बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास रहेको उनले बताएका छन् ।

सोही परम्पराअनुसार दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने, मखमली तथा सयपत्रीको माला पहिर्याउने र विभिन्न परिकार खुवाउने चलन रहेको छ ।

त्यस्तै, दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा तथा उपहार दिएर आशीर्वाद ग्रहण गर्ने परम्परा छ ।

प्रधानमन्त्री शाहले भाइटीकाको सांस्कृतिक र पारिवारिक महत्वलाई स्मरण गर्दै यस पर्वले पारिवारिक सम्बन्ध र सामाजिक सद्भावलाई थप बलियो बनाउने अपेक्षा गरेका छन् ।

Share News