फाल्गुनन्दका विचार र आदर्शलाई मार्गदर्शनका रूपमा लिनुपर्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दका विचार, दर्शन र आदर्शलाई समाज निर्माणको मार्गदर्शनका रूपमा आत्मसात् गर्नुपर्ने बताएका छन् ।

महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा श्रद्धासुमन व्यक्त गर्दै थापाले सत्य, अहिंसा, समानता, सदाचार र सामाजिक सुधारका उहाँका विचारले सभ्य, न्यायपूर्ण र सद्भावपूर्ण समाज निर्माणमा प्रेरणा दिने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा किराँत धर्म र संस्कृतिको मौलिक पहिचान संरक्षणमा महागुरु फाल्गुनन्दले पुर्याएको योगदानको स्मरण गरेका छन् ।

थापाले विविधताबीच एकता कायम गर्दै आपसी विश्वास, सहिष्णुता र भाइचाराको भावना अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

महागुरु फाल्गुनन्दको जन्मजयन्ती हरेक वर्ष कात्तिक २५ गते मनाइन्छ । किराँत धर्म, संस्कृति र सामाजिक सुधारका क्षेत्रमा योगदान पुर्याएका फाल्गुनन्दलाई सरकारले राष्ट्रिय विभूतिको सम्मान दिएको छ ।

Share News