काठमाडौं । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले आज काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा बस निःशुल्क सञ्चालन गरेको छ ।
सार्वजनिक यातायातको अभावमा सर्वसाधारण नागरिकलाई आवतजावतमा असहज नहोस् भन्ने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेका निःशुल्क बस बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म चल्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।
काठमाडौं उपत्यकामा सञ्चालन हुने बसमध्ये सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयबाट छुट्ने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुलाई सेवा प्रदान गर्नेछ ।
त्यस्तै, प्रधान कार्यालयबाटै छुट्ने अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानमा यात्रुलाई निःशुल्क सेवा उपलब्ध गराउनेछ ।
यसैगरी, प्रधान कार्यालय स्वयम्भूबाट भक्तपुरसम्म सञ्चालन हुने तेस्रो बसले स्वयम्भू, कलङ्की, बानेश्वर, कोटेश्वर, पेप्सीकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलङ्की र स्वयम्भूसम्म सेवा दिनेछ ।