काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षौंदेखि बेपत्ता रहेकाहरू सूची सार्वजनिक गरेको छ । प्राधिकरणले नेपालका विभिन्न जिल्लाका २ हजार २९४ जना र विभिन्न ७ देशका १७१ जना गरी कुल २ हजार ४६५ जना बेपत्ता व्यक्तिको विवरण सार्वजनिक गरेको हो ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा प्राप्त विवरण सूचीमा समावेश गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार रसुवामा सबैभन्दा धेरै १ हजार ५३८ जना बेपत्ता रहेका छन् । त्यसपछि सिन्धुपाल्चोकमा २१९, बर्दियामा ७४, जुम्लामा ६३ तथा कैलाली र सप्तरीमा ५१-५१ जना बेपत्ता छन् ।
त्यस्तै, दाङमा ३८, रामेछाप र सिन्धुलीमा ३७-३७, काभ्रेपलाञ्चोकमा ३५, नवलपरासी पूर्व र उदयपुरमा १७-१७, बागलुङमा १६, डडेल्धुरामा १५, ललितपुरमा १४, नवलपरासी पश्चिममा ११, महोत्तरीमा ९ र स्याङ्जामा ८ जना बेपत्ता रहेका छन् ।
यसैगरी, खोटाङ र कालीकोटमा ६-६, भोजपुरमा ४, संखुवासभा र बाजुरामा ३-३ तथा धनकुटा, अछाम, कपिलवस्तु, जाजरकोट र ताप्लेजुङमा २-२ जना बेपत्ता छन् । तेह्रथुममा एक जना बेपत्ता रहेको जनाइएको छ ।
प्राधिकरणले नेपाली नागरिकसँगै नेपालमा बेपत्ता रहेका विदेशी नागरिकको विवरणसमेत सार्वजनिक गरेको छ । सात देशका नियोगबाट प्राप्त विवरणअनुसार १७१ जना विदेशी नागरिक बेपत्ता छन् ।
जसअनुसार मलेसिया र युक्रेनका ५४-५४, अस्ट्रेलियाका ३३, रुसका ११, दक्षिण कोरियाका ९, जर्मनीका ८ र इटालीका २ जना बेपत्ता रहेका छन् ।
विदेशी नागरिकको विवरण सम्बन्धित देशका नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएका नियोगबाट परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमार्फत प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको स्वदेशी बेपत्ता व्यक्तिको विवरण हेर्न सम्बन्धित व्यक्तिले उपलब्ध गराइएको सङ्केत चिह्न स्क्यान गर्न वा वेबसाइटमा जान सक्नेछन् । साथै, सम्बन्धित स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरेर पनि विवरण हेर्न सकिने व्यवस्था गरिएको छ ।
सार्वजनिक विवरणमा आफ्नो वा परिवारका सदस्यको नाम तथा अन्य विवरण फरक परेको भए त्यसको कारण खुलाएर प्राधिकरणको इमेलमार्फत दाबी पठाउनुपर्नेछ । प्राधिकरणका अनुसार हाल सार्वजनिक गरिएको सूची अन्तिम होइन । सार्वजनिक सूचनामा समेटिन बाँकी अन्य बेपत्ता व्यक्तिको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएपछि थप प्रक्रिया अघि बढाइनेछ ।
त्यस्तै, बेपत्ता विदेशी नागरिकको हकमा सम्बन्धित नियोगहरूबाट थप विवरण प्राप्त भएपछि पुनः सूचना प्रकाशित गरिने प्राधिकरणले जनाएको छ ।
बेपत्ताहरूको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्ः https://setu.ndrrma.gov.np/admin/missing.php