एनएमबी बैंकको नाफा १ अर्ब १६ करोड, ईपीएस २३.८३ रुपैयाँ

काठमाडौं । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा कमाएको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतले बढी हो ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा समेत सुधार आएको छ । बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी २५.४२ प्रतिशतले बढेर २३ रुपैयाँ ८३ पैसा पुगेको छ ।

त्यस्तै, बैंकको प्रतिसेयर वितरणयोग्य नाफा पनि ४३.८८ प्रतिशतले बढेर ११ रुपैयाँ ६४ पैसा पुगेको छ । यसले बैंकको सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने क्षमतामा सुधार आएको देखाउँछ ।

पहिलो त्रैमासमा बैंकको कर्जा तथा निक्षेप दुवै बढेको छ।  बैंकको कुल कर्जा ८ अर्ब ९ करोड रुपैयाँले वृद्धि भई २ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल निक्षेप ६ अर्ब ३ करोड रुपैयाँले बढेर ३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । बैंकको कर्जा वृद्धिदर समग्र बैंकिङ क्षेत्रको औसत वृद्धिदरभन्दा बढी रहेको जनाएको छ ।

यस अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) पनि घटेको छ । अघिल्लो त्रैमासमा ४.९७ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.९२ प्रतिशतमा झरेको छ । यसले बैंकको कर्जाको गुणस्तरमा सुधार आएको संकेत गर्छ ।

त्यस्तै, बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (इम्पेयरमेन्ट चार्ज) भने २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ ।

बैंकको पुँजी कोष अनुपात १२.५३ प्रतिशत रहेको छ । यसले बैंकको पुँजीगत अवस्था, वित्तीय स्थायित्व तथा दिगो बैंकिङ अभ्यासलाई प्रतिबिम्बित गर्ने बैंकले जनाएको छ । 

Share News