काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । रत्नपार्क वितरण केन्द्र तथा काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणालीको नियमित मर्मतसम्भार, ११ केभी भूमिगत केबल जडान तथा चार्जिङ कार्य गर्न विद्युत् आपूर्ति बन्द गर्न लागेको हो ।
प्राधिकरणका अनुसार शनिबार (असोज २४ गते) गैह्रीधारा र हाँडीगाउँ फिडरअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । आइतबार (२०८३ असोज २५ गते) कालिकास्थान फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म गैह्रीधारा फिडरअन्तर्गत लैनचौर चोक, उत्तरढोका, कैलाशचौर, खरेल टोल, नीलसरस्वती स्थान, उत्तरढोका टुकुचा क्षेत्र, खोलागल मार्ग, गैह्रीधारा चोक, सनराइज बैंक क्षेत्र, बालुवाटार, चिनियाँ दूतावास आसपासका क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ ।
त्यस्तै, हाँडीगाउँ फिडरअन्तर्गत शनिबार मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । ओम अस्पतालको विपरीत दिशादेखि धोबीखोला करिडोर हुँदै भत्केको पुल, हाँडीगाउँ, हाँडीगाउँ कृष्ण मन्दिर, नक्साल भाटभटेनी, टङ्गाल, गहनापोखरी, छातागणेश, प्रहरी प्रधान कार्यालय, ज्ञानेश्वर, चारखाल र इचुवान रेस्टुरेन्ट आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।
आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कालिकास्थान फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । यस अवधिमा कालिकास्थान वरको बोट हुँदै डिल्लीबजार चारखाल, डिल्लीबजार पिपलबोट, घट्टेकुलो दुर्गा मन्दिर, मैतीदेवी, मैतीदेवी सेतोपुल, मैतीदेवी मन्दिर, ज्ञानेश्वर ओरालो तथा रातोपुलदेखि सेतोपुलसम्मका क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ ।
प्राधिकरणले मर्मतसम्भार तथा जडान कार्य निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा विद्युत् सेवा सोहीअनुसार चाँडै सञ्चालनमा ल्याइने जनाएको छ ।