काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशका सबै भू-भाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने तराईमा आंशिक बदली हुनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ । कोशी प्रदेशको तराईका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ ।
आज राति देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।