काठमाडौं । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध हुने क्रम जारी छ । प्रहरीका अनुसार रसुवा, म्याग्दी, मनाङ र नवलपरासी पूर्वका विभिन्न सडक प्रभावित भएका छन् ।
रसुवाको मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । बाढीका कारण गत भदौ १० गतेदेखि नै उक्त सडकखण्ड बन्द छ ।
त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीस्थित बेनी-जोमसोम सडकमा पहिरोका कारण भएको अवरोध पनि हटेको छैन । उक्त सडक असोज १० गतेदेखि प्रभावित हुँदै आएको छ ।
मनाङको खाङसार-बेंसीसहर सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ । असोज ९ गते राति आएको बाढीका कारण बेंसीसहर हुँदै खाङसार जाने सडक प्रभावित भएको हो ।
यसैगरी, नवलपरासी पूर्वको कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका-३ जन्तीमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ । उक्त सडकखण्डमा ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
