काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पदाधिकारीसहित विभिन्न पदका उम्मेदवारको प्रथम नामावली सार्वजनिक गरेको हो ।
कांग्रेसको विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी २५ जना पदाधिकारी रहने व्यवस्था छ । त्यसमध्ये चार जना सहमहामन्त्री र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था रहेकाले निर्वाचित हुने पदाधिकारीको संख्या १९ जना हुनेछ ।
निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीअनुसार १९ जना निर्वाचित पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ ।
सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभापतिमा वर्तमान सभापति गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् ।
विधानअनुसार वरिष्ठ उपसभापति एक तथा समावेशी समूहअन्तर्गत महिला उपसभापति एक र खुला उपसभापति दुई जना निर्वाचित हुने व्यवस्था छ । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ । महिला उपसभापतिमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ । शर्मा र भुसाल दुवै हाल उपसभापति छन् ।
प्रथम नामावलीमा कुनै दाबी–विरोध भए प्रक्रियासम्मत रूपमा दाबी–विरोध दर्ता गर्न आज बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्मको समय तोकिएको छ ।